उद्योगीका लागि सहज बन्दै महोत्सव

  आवाज सम्वाददाता

गएको चैत २५ बाट शुरु भएको ‘केचना कञ्चनजंघा पर्यटन तथा चलचित्र महोत्सव ७८’ विशेष गरि साना उद्योगीका लागि सहज बन्दै गएको छ । झापा देखि ताप्लेजुङ्ग सम्ममा साना उद्योगीहरुका लागि यो महोत्सव आफ्नो उत्पादन प्रचार–प्रसार गर्ने राम्रो अवसरका भएको छ ।
ताप्लेजुङ्गबाट उत्तम अल्लो उद्योगबाट कपडाकै स्टल लिए महोत्सवमा आइपुगेकी आशा आङ्बोहाङले महोत्सवमा बिक्री वितरण भन्दा आफ्नो उद्योगको सामग्री प्रचार–प्रसारका लागि ल्याएको बताइन् । आङ्बोहाङले अल्लोको कपडा, खाँडीको कपडा, व्याग, ढाकाको बथान, चोलो स्टलमा राखेकी छन् । ‘आजै

आइपुगें, बिक्री पनि शुरु भएको छ कारोबार राम्रै होला भन्ने लागेको छ ।’ उनले भनिन् ‘कारोबार भन्दा ठूलो त महोत्सवमा आएर आफ्नो उत्पादनको प्रचार गर्न पाउनुनै हो ।’ आङबोहाङले १६० रुपैयाँ देखि देखि ७ हजार रुपैयाँ सम्मका कपडा आफ्नो स्टलमा राखेकी छन् । फुङ्लिङ नगरपालिका– २ मा ३ वर्ष अघि कपडा उद्योग स्थापना स्थापना गरेकी उनले करिब ५ लाख रुपैयाँ उद्योगमा लगानी रहेको बताइन् ।
यता ढाका कपडालाई विगत १५ वर्ष यता व्यवसायिक बनाउँदै आएको इलाम स्थित न्यु सम्झना ढाका उद्योगले पनि एउटा स्टल महोत्सव स्थलमा राखेको छ । महोत्सवमा आउने धेरैले गलबन्धी, रुमाल, हाते पर्स, व्याग कोशेलीका रुपमा लाने गरेको यस स्टलबाट पनि स्थानीय उत्पादनको राम्रो चल्ती रहेको छ । १५० रुपैयाँ देखि १० हजार रुपैयाँ सम्मका सामग्री रहेको यहाँ दैनिक ८–१० हजारको बिक्री रहेको सञ्चालक लिना लिम्बुले बताइन् ।
अदुवाका विभिन्न परिकारको स्टल लिएर आएकी अर्की व्यवसायी उषा निरौलाले आफ्नो व्यवसायबाट राम्रै आम्दानी हुने गरेको बताइन् । अदुवाको केन्डी, सुठो, किवीको जाम, अदुवाको जाम, अकबरेको धुलो लगायतका उत्पादन रहेको निरौलाले पनि प्रचार–प्रसारका लागि महोत्सवमा आएको बताइन् ।
महोत्सवमा फूल तथा नर्सरीका पनि निकैवटा स्टल छन् । फूल विरुवाको स्टल लिएर आएका रोजित सिंजालीले महोत्सवमा राम्रो सँग फूलहरु बिक्री भएको बताए । दैनिक दश हजार रुपैयाँ सम्मको फूलका विरुवा बिक्री हुने गरेको सिंजालीले बताए । ५० रुपैयाँ देखि एक हजार रुपैयाँ सम्मको फूल सिंजालीको स्टलमा छ ।
महोत्सव शुरु भएको तीन दिन बितिसक्दा मौसमका कारण पर्यटकहरुको आवागमन त्यति राम्रो भने छैन । ‘अझै केही स्टलहरु आउन बाँकी छन् । भोलि सम्ममा ती स्टलहरु आउनेछन् । मौसमले अलिकति साथ दिएन, भोलिदेखि टाढाबाट अन्य पाहुनाहरु आउने निश्चित भएको छ ।’ महोत्सव आयोजक समिति केचना कचंनजंगा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौरालीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार