एमाले इलाममा पदाधिकारीमा आकांक्षी बढी, यी हुन् दावेदार

इलाम, २३ पुस  : नेकपा एमालेको १० औं जिल्ला अधिवेशन भोलिदेखि इलाममा सुरु हुँदैछ । अधिवेशनमा जिल्ला अध्यक्षदेखि जिल्ला कमिटी सदस्यसम्मको आकांक्षी बग्रेल्ती देखिन्छन् ।
पार्टीको केन्द्रीय सर्कुलरअनुसार ‘सर्वसहमति’ वा ‘अधिकतम् सहमति’मा नेतृत्व चयन गर्नुपर्ने छ । तर, आकांक्षी बढेसँगै सर्वसहमतिको सम्भावना कम देखिएको छ । अहिले अघिल्ला चुनाबमा जस्तो ‘प्यानल’ वा गुटगत उम्मेदवार चयन गर्न पाइदैन ।
गुटगत राजनीति गरेमा कारबाही हुने भएपछि उम्मेदवारहरू आफू÷आफू मात्रै आकांक्षा देखाइरहेका छन् । चुनाबमा लडेमा वा पराजीत भएमा पार्टीबाटै किनारा लाग्ने सम्भावना देखिएर पनि अधिकांश उम्मेदवार सर्वसहमति हुनुपर्नेमा जोड दिन्छन् ।
प्यानल हावी हुन नसकेपछि व्यक्तिगत प्रभावका आधारमा चुनाब लड्नु पर्ने हो ।
पार्टी अध्यक्षमा तीन जनाको दावी
अहिले एमालेको पार्टी अध्यक्षमा तीन जनाले दावी गर्दै आएका छन् । वर्तमान पार्टी अध्यक्ष महेश बस्नेत, सचिवालय सदस्य डा. देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराईको दावी छ । नवौ अधिवेशनमा सचिवमा जितेका र हाल अध्यक्षमा मनोनित भएका बस्नेत दशौ अधिवेशनबाट निर्वाचित अध्यक्ष बन्न चाहन्छन् । प्रदेश र केन्द्रको आकांक्षा समेत त्यागेर बस्ने अहिले जिल्ला अध्यक्षको दौडमा छन् ।
अध्यक्षको उम्मेदवार भनेर हालसम्म बस्नेतले भनेका छैनन् । तर स्वभाविक रूपमा बस्नेत नै अध्यक्षको उम्मेदवार रहेको उनका निकटहरू बताउँछन् । यस्तै, डा. दुलाल र भट्टराई पनि बस्नेतपछिका अध्यक्षका दाबेदार हुन् । पूर्वपत्रकार एवम् वर्तमान सचिवालय सदस्य दुलाल अध्यक्षको उम्मेदवार आफू रहेको बताउँदै आएका छन् ।
विशेषगरी एक व्यक्ति, एक पदको एजेण्डा लिएर दुलाल अध्यक्षको आफू उम्मेदवार रहेको बताउँछन् । यस्तै, अध्यक्षका अर्का प्रत्यासी भट्टराई समेत आफू अध्यक्षकै दावेदार भएको बताउँछन् । त्यसो त एमालेको आचारसंहिताअनुसार ७० बर्षे उमेर हदले पनि भट्टराई यस पटक अध्यक्षमा दावी गरेका हुन् । आगामी ११ औं अधिवेशनमा भट्टराई ७० कटिसक्ने भएकाले यस पटक अध्यक्षमा आकांक्षा राखेका एमाले निकटहरू बताउँछन् । भट्टराई यसभन्दा अघि आठौ महाधिवेशनका अध्यक्षकै उम्मेदवार हुन् । त्यसबेला मणि लिम्बूसँग केही मतले हार ब्यहोरेका भट्टराई नवौ महाधिवेशनमा जिल्ला कमिटी सदस्यमा मात्रै उम्मेदवारी दिएका थिए । नवौ महाधिवेशनमा केपी ओली प्यानलबाटै जिल्ला सदस्यमा जीत हासिल गरेका भट्टराई दशौ अधिवेशनमा समेत अध्यक्षकै दावेदार रहेका छन् ।
उपाध्यक्षमा पाँचको दावी
अध्यक्षपछि अर्को ठूलो पद उपाध्यक्षमा पनि दावेदारको संख्या अझै बढी छ । हालसम्म उपाध्यक्षमा पाँच जनाको दावी रहेपनि आकांक्षी बढ्ने सम्भावना पनि छ । हालसम्म उदय राई, शोभा पराजुली, काजीमान कागजे, रत्नबहादुर अधिकारी र ओमनारायण खनाल उपाध्यक्षका आकांक्षी हुन् ।
हालका सचिवालय सदस्य एवम् सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राई आफू उपाध्यक्षको पक्का उम्मेदवार रहेको दावी गर्छन् । त्यसो त उदय एमालेभित्रका ‘१० बुँदे’ नेतामा पर्छन् । कुनै बेला उदय हालका इलाम क्षेत्र नं. १ का सांसद एवम् नेकपा एसका सम्मानित नेता झलनाथ खनालका निकट थिए । खनालले नेकपा एमाले छाडेपनि उदय भने एमालेमै रहे ।
यसैले पनि उदय उपाध्यक्षको दावेदार रहेको दावी गर्छन् । उपाध्यक्षकै अर्को दावेदार हुन्, शोभा पराजुली । जिल्लाका नेकपा एमालेका उत्कृष्ठ महिला नेतामा पर्ने पराजुली स्वभाभिवक रूपमा आफू उपाध्यक्षको दावेदार रहेको बताउँछिन् । एकै पालिकाका दुई जना एउटै पदका दावेदार भएपछि मिलाउन सकस परिरहेको एमाले नेताहरू बताउँछन् । यस्तै, उपाध्यक्षका अर्का दावेदार हुन्, काजीमान कागते । सूर्योदय नगरपालिकावासी एवम् प्रदेश नं. १ सांसद समेत रहेका काजीमान कागते यस पटक उपाध्यक्ष बन्न चाहन्छन् । क्षेत्रगत रूपमा समेत कागतेको दावेदारी अरुको भन्दा कम छैन ।
सूर्योदय नगरपालिकामा पछिल्लो समय नेकपा एसको वर्चस्व रहेकाले एमाले केही कमजोर रहेको छ । त्यसैले पनि काजीमानलाई उपाध्यक्ष दिँदा क्षेत्रगत प्रतिनिधित्व रहेने देखिन्छ । यस्तै, पुराना एमाले नेता एवम् तत्कालीन भूमि आयोग जिल्ला अध्यक्ष ओमनारायण खनाल र सूर्योदयकै रत्नबहादुर अधिकारी समेत उपाध्यक्षका आकांक्षी हुन् ।
सचिवमा पाँच दावेदार
अध्यक्षपछिको अर्को कार्यकारी पद सचिवमा पनि दावी गर्नेको संख्या पनि उस्तै छ । वर्तमान उपसचिव एवं संगठन विभाग प्रमुख उमेश गुरुङ र वर्तमान प्रचार विभाग प्रमुख प्रकाश अधिकारी सचिवका उम्मेदवारमध्ये सबैभन्दा माथि छन् ।
नवौ अधिवेशनबाटै उपसचिवमा जितेका गुरुङ आफू स्वभाविकरूपमा सचिवको दावेदार रहेको बताउँछन् । विषम परिस्थितिमा समेत आफू पार्टीमा कटिबद्ध रहेकाले पनि आफू सचिवको दावेदार रहेको गुरुङ सुनाउँछन् ।
यस्तै, सचिवका अर्का दावेदार हुन्, प्रकाश अधिकारी । नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख अधिकारी आफू सचिवकै दावेदार रहेको प्रष्ट्याउँछन् । आफूलाई संसदीय फाटमा जाने आकांक्षा नरहेको र पार्टी संगठन निर्माणका लागि सचिव हुन चाहेको अधिकारी सुनाउँछन् । यस्तै, सचिवकै दावेदार हुन् गोपाल नेपाल, बुद्धि खनाल र रवीन्द्र सुवेदी ।
पूर्व शिक्षक संगठन अध्यक्ष गोपाल नेपालले समेत यस पटक सचिवकै दावेदार हुन् । पछिल्लो समय पार्टी राजनीतिमा क्रियाशील नेपाल संगठन सुदृढकै लागि सचिव बन्न चाहन्छन् ।
यस्तै, सचिवालय सदस्य वुद्धि खनाल समेत सचिवकै दावेदार रहेका छन् । लामो समय नेकपा एमाले उपनेता एवम् उपाध्यक्ष सुवास नेम्वाङको स्वकीय सचिव भएर काम गरेका खनाल जिल्लामा क्रियाशिलताका लागि सचिव पद रोज्छन् । यस्तै, वर्तमान कार्यालय सचिव रबिन्द्र सुवेदी पनि सचिवको आकांक्षी हुन् । विद्यार्थी राजनीतिबाट मूल राजनीतिमा प्रवेश गरेका रबिन्द्र विद्यार्थी वर्गमा रुचाइरहेका व्यक्तिमा पर्छन् ।
उपसचिवमा दावेदारी गर्नेको भीड
अन्य पदाधिकारीको तुलनामा उपसचिव दावी गर्नेको संख्या एमालेमा उल्लेखिय छ । उपसचिव दुई वटा भएकाले पनि स्वभाविकरूपमा दावेदारी बढेका हुन् । अहिले उपसचिव दावी गर्नेमा सावित्रा शिवा, रमेश राई, विष्णुमाया आचार्य, नोमनाथ खतिवडा, सुनीता सुब्बा, सन्तराम योङहाङ,छवि श्रेष्ठ रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार