युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) आज (असार २४ गते) देखि खुलेको छ। कम्पनीले अंकित मूल्य १ सयका दरमा कुल ६४ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयर निष्कासन गरेको हो।
जसमध्ये सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ। कम्पनीको आइपिओमा २८ गतेसम्म आवेदन दिन सकिनेछ। बिक्री प्रबन्धकका रूपमा प्रभु क्यापिटल रहेको छ।
कम्पनीले इक्रा नेपालबाट ट्रिपल बी रेटिङ प्राप्त गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको जनाउँछ। इक्रा नेपालले एएए देखि डीसम्म रेटिङ प्रदान गर्दछ। जसले एएए सबैभन्दा राम्रो र डी सबैभन्दा कमजोर संकेत गर्दछ।
आइएमई, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्।
कस्तो छ कम्पनी?
नयाँ बानेश्वरमा प्रधान कार्यालय रहेको यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। संचालनमा आइरहेको यस कम्पनीले चैत मसान्तसम्म खुद ८ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ। सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ५ अर्ब रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ४६ पैसा छ भने प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ३३ पैसा छ।
कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेपछि भने प्रतिसेयर आम्दानी घट्नेछ। यसमा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको सेयर रहनेछ। शुलभ अग्रवाल, शेखर गोल्छा, शाहिलकुमार अग्रवाल, संदिपकुमार अग्रवाल लगायत संस्थापक छन्। साभार : सेताेपाटीअनलाइन
















