जनकल्याण माविको ८३ लाखमा बनेको भवन उद्घाटन

उद्घाटनमा ६८ जनालाई सम्मान

  आवाज सम्वाददाता

इलाम।इलाम जनकल्याण माध्यमिक विद्यालयमा निर्माण गरिएको ८ कोठे भवन उद्घाटन भएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले भवन उद्घाटन गरेका हुन । ८३ लाख रुपैयाँ लागतमा निर्माण भएको उक्त भवन निर्माणका लागि २०७७ सालमा पालिकाबाट १३ लाख र वडा नम्बर ७ बाट ८ लाख गरी जम्मा २१ लाख खर्च गरी भवनको जग निर्समाण, सम्याउने र खेलमैदान निर्माण गरिएको थियो ।

त्यसपछि आर्थिक वर्ष २०७९।०८० मा संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५० लाखको बजेटमा चार कोठे भवन निर्माण भयो । २०८०।०८१ मा प्रदेश सरकारबाट तला थप गर्न प्राप्त २५ लाख तथा विद्यालयको आन्तरिक ८ लाख रकम सहित जम्मा ८३ लाखको लागतमा २७ मिटर लामो र ९ मिटर चौडाइको आठ कोठे दुई तले भवन निर्माण सम्पन्न गरिएको हो । भवनमा १५ वटा सीसी क्यामेरा, ७५ र ६५ इन्चका दुई स्मार्ट बोर्ड, बालमैत्री डेक्सबेन्चसहित कक्षा कोठा, प्रशासन कक्ष र शिक्षक कक्ष व्यवस्थित रूपले निर्माण गरिएको विद्यालयले जनाएको छ । विद्यालय विकासमा पूर्व विद्यार्थीबाट प्राप्त सहयोग विशेष प्रेरणादायी बनेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार योङहाङ लिम्बूका अनुसार ४१ जना पूर्वविद्यार्थीबाट ७ लाख १२ हजार एक सय ४४ रुपैयाँ संकलन भएको छ । सो रकमबाट ६० हजारमा विद्यालयको डकुमेन्टूी निर्माण, ६५ हजारमा भित्तालेखन तथा आर्टवर्क, १ लाख ८२ हजारमा २० सेट फलाम फर्निचर, १ लाख ९५ हजारमा १० थान बुक कर्नर र १८ सेट सखुवाको काठका डेक्सबेन्च, ३० हजारमा शिलालेखन, ६० हजारमा चेन गेट तथा रेलिङ जडान, ४२ हजार रुपैयाँको ट्र्याक सुट वितरण, ३३ हजार ढुवानी र २१ हजार सम्मानपत्र छपाइमा खर्च भएको छ । समग्र खर्चपछि २४ हजार १४४ रुपैयाँ बचत रहेको विद्यालयले सार्वजनिक गरेको छ । विद्यार्थी सहुलियत कोषका लागि २ लाख १ हजार एक सय ११ रुपैयाँ संकलन भएको छ । यसमा फाकफोकथुम-७ खम्बुवा निवासी शिक्षाप्रेमी तथा पूर्व विव्यस सदस्य दिलबहादुर लिम्बूबाट १ लाख एक सय ११ रुपैयाँ, यही वडास्थित क्रिएटिभ सोसियल स्पोर्टिङ क्लबबाट ६१ हजार, पूर्व शिक्षक नरबहादुर खत्रीबाट ३० हजार र खनालगाउँ निवासी पूर्व प्रधानाध्यापक रविन्द्र प्रसाद शर्माबाट १० हजार रकम प्राप्त भएको विद्यालयले जनाएको छ । यसैगरी स्व. पञ्चबहादुर योङहाङ, अमृत लायो मगर, वेदप्रसाद आले र तिलक आलेले आठ(आनाका दरले विद्यालयका लागि जग्गादान गरेका छन् ।

६८ जनालाई सम्मान

भपन उद्घाटन कार्यक्रमसँगै विद्यालयमा तथा समुदाय विकासमा योगदान पुर्याउने ६८ जनालाई सम्मान गरिएको थियो । पूर्व प्रधानाध्यापक रविन्द्रप्रसाद शर्मा, हरिप्रसाद पोखरेल र दुर्गाबहादुर योङहाङलाई दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । पूर्व विव्यसका स्व. गजराज योङहाङ, हर्कसिंह योङहाङ, नेत्रसिंह योङहाङ, वेदनारायण आले र चन्द्र आलेलाई मरणोपरान्त सम्मान प्रदान गरियो । गोविन्द कोइराला, गलिन्द्र योङहाङ र पञ्चबहादुर योङहाङ पूर्व विव्यस सम्मानबाट सम्मानित भए । पूर्व शिक्षक(अभिभावक संघतर्फदेखि जगत योङहाङ, लालमान लिम्बु र अमृत लायो मगरलाई सम्मान गरियो भने पूर्व प्रधानाध्यापकहरू मध्ये संस्थापक प्रअ उज्ज्वलसिंह योङहाङ, दधिराम लामिछाने, नारायण प्रसाद लुइटेल, देवीप्रसाद पौडेल, लालबहादुर खड्का र खगेन्द्र पिठाकोटेलाई सम्मान प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक गणेश पौडेलले स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमको औपचारिक सुरुआत गरे । कार्यक्रममा पूर्व प्रधानाध्यापक हरि प्रसाद पोखरेल, वडा अध्यक्ष छत्रबहादुर लिम्बु तथा पूर्व पालिका उपाध्यक्ष सरस्वती राईले शुभकामना मन्तव्य राख्दै विद्यालयको प्रगतिका लागि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरे । समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन कुमार योङ्हाङ लिम्बुले कार्यक्रमको उद्देश्य, विद्यालयका चालु गतिविधिहरू तथा आय(व्यय विवरण प्रस्तुत गरे । शुभकामना मन्तव्य क्रमशः पूर्व पालिका उपाध्यक्ष सरस्वती राई, पूर्व प्रअका प्रतिनिधि हरि प्रसाद पोखरेल र वडा अध्यक्ष छत्रबहादुर लिम्बुद्वारा व्यक्त गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राना र विशेष अतिथि खनालले उत्कृष्ट कार्य गर्दै आएका व्यक्तित्वहरूलाई सम्मानपत्र वितरण गर्दै विद्यालयले शैक्षिक उत्कृष्टता हासिल गर्न आवश्यक सहयोग प्रदान गर्ने आश्वासन दिए । उनीहरूले विद्यालयलाई जिल्लाको उत्कृष्ट विद्यालयका रूपमा देख्न पाउने आकांक्षा व्यक्त गर्दै सबैलाई निरन्तर सहयोग र एकताका लागि आह्वान गरे । उद्घाटन समारोह विद्यार्थीका नृत्य, शिक्षक प्रस्तुतिहरू, विभिन्न विद्यालयका प्रअ तथा विव्यस अध्यक्ष, जनप्रतिनिधि र अभिभावकको व्यापक उपस्थितिमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार