
इलाम।संविधानसभा अध्यक्ष समेत रहेका पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्रीलाई संसद विघटन गर्न पाउने बताएका छन् ।
बिहीबार इलाम सदरमुकाममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने तर्क गरेका छन् । ‘जनता गुहार्ने प्रधानमन्त्रीको लोकतान्त्रिक विकल्प हो’, उनले भने ‘संसद सरकारको विजनेशमा चल्ने हो ।’ नेता नेम्वाङले संसदबाटै प्रधानमन्त्रीलाई असहयोग भएको संकेत गरेका छन् । संसदमा एमसीसी पेश नभएको, दुई तीन वर्षसम्म पनि कानुन पारित नभएको, संवैधानिक नियुक्तीमा अड्चन गर्न संवैधानिक परिषदको बैठक बस्न नसकेको विषय निकाल्दै संसदबाट प्रधानमन्त्रीलाई असहयोग भएको संकेत गरेका हुन् । ‘सरकारले संसदमा एमसीसी अनुमोदनको लागि संसदमा दर्ता गरायो’,उनले थपे,‘संसदमा प्रस्तुत भएपछि कि पास हुन्छ कि फेल हुन्छ, तर बिचबाटै हराउन मिल्दैन ।’
प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन ठीक हो कि होइन भन्ने विषय सर्बोच्च अदालतमा बिचाराधीन रहेको भन्दै नेता नेम्वाङले न्यायालयलाई फैसला गर्ने उपयुक्त बाताबरण दिनुपर्नेमा जोड दिए । जनतामाझ जाने कुरा प्रतिगमन या निरंकुश नहुने भन्दै जनतालेनै धूधको धूध पानीको पानी छुट्याउने उनले बताए ।
निर्वाचन आयोगले पार्टीको आधिकारीकता विवाद सम्बन्धी मुद्धा टुङ्ग्याइसकेको नेम्वाङको दावी छ । ‘निर्वाचन आयोगले नेकपाको पहिलो अध्यक्ष केपी ओली, द्वितिय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल, तथा महासचिव विष्णु पौडेल पदाधिकरी रहेको पाटीनै नेकपा हो भनेर निर्वाचन आयोगले भनिसक्यो’, नेता नेम्वाङले भने,‘अब को भयो आधिकारीक ?’ उनले आफूहरुनै आधिकारीक भएको भन्दै जो अधिकारीक हुन्छ नाम र चुनाव चिन्हपनि उसैको हुने बताए ।
सर्बोच्च अदालतले प्रतिनिधिसभा विघटनको सन्दर्भमा स्थगन सम्बन्धी आदेश दिन इन्कार गरेकाले निर्वाचन सम्बन्धि काम गर्न आयोगलाई कुनै बाधा नरहेको दावी गरे । ‘सर्बोच्चले स्थगन आदेश जारी नगर्नु भनेको निर्वाचन सम्बन्धी काम गर्नु भनेको हो’, नेता नेम्वाङले भने,‘निर्वाचन सम्बन्धी काम नगर भनेर निर्वाचन आयोगलाई धम्की दिनु भएन, निर्वाचन आयोगलाई साह्रै धेरै दवाब दिइएको छ ।’ निर्वाचन नभए मात्रै प्रतिगमन हुने भन्दै नेता नेम्वाङले जनतामा जाने कुरा प्रतिगमन नभएको जिकिर गरे । ‘जसले प्रतिगमनमा विश्वास गर्छन उनीहरुले जनतालाई विश्वास गर्दैनन्’, उनले थपे,‘जसले जनतामा विश्वास गर्छन्, उनीहरुले प्रतिगमनको विश्वास गर्दैनन् ।’

नेता नेम्वाङले बिहीबार भूमी सम्बन्धी समस्या समाधान आयोगको जिल्ला स्थित कार्यालयको उद्घाटन गरेका छन् । त्यस्तै नेम्वाङले इलाम नगरपालिका ५ को बिब्ल्याँटेमा ८० लाख रुपैयाँको लागतमा निर्माण भएको चुम्लुङ हीम सामुदायिक भवनको उद्घाटन गरेका छन् ।
















