मेची राजमार्ग राज्यको ढुकुटी दोहोनको माध्यम नबनोस्

सम्पादकीय


हामी इलाम, पाँचथर र ताप्लेजुङको पर्यटन विकासको संभावनाहरु खोजिरहेका छौं । तर, तराई जोड्ने हाम्रो मूख्य मार्ग मेची राजमार्गको अवस्था भने विग्रदो अवस्थामा छ । यसले हाम्रो पर्यटनको विकासलाई मात्र होइन, विकासका अन्य स‌भावनाहरुलाई समेत पछि धकेलिरहेको छ ।  सवारी गुडाउन असहज मात्र होइन उत्तिकै जोखिम पनि छ । सडकको खाल्टाखुल्टीले कालोपत्रे नभएर कच्ची सडकमा हिँडिरहेको महसुस यात्रुलाई हुने गरेको छ । राजमार्गको खाल्टाखुल्टीले मेची राजमार्गको यात्रा यात्रुहरुलाई जोखिम र सास्ती बन्ने गरेको छ । इलाम र झापाको सीमाना जोरकलशदेखि उकालो लागेपछि मेची राजमार्गको दुरवस्था शुरु हुन्छ । तीन जिल्लालाई सडक संयन्त्रसँग जोड्ने यो सडक संरक्षणविहीन जस्तो देखिन्छ । वर्षौंदेखिको सडकको अवस्था नसुध्रनु अत्यन्तै दुःखद पक्ष हो । अझ सडक भिभिजन कार्यालयनै इलाम सदरमुकाममा रहेको छ । सडकको निर्माण, मर्मतको अख्तियारी पाएको कार्यालय हुँदाहुँदै पनि सडकको अवस्था कहिले नसुध्रनु विडम्बना हो ।

सडक मर्मत नगरिने पनि होइन । मर्मतमा वर्षेनी करोडौं खर्च पनि हुने गरेको छ । तर, मर्मत गरिएको दुई चार महिनामै भत्किने गरेको छ । वर्षेनी जसो करोडौंका मर्मत हुन्छन् तर त्यो मर्मत सम्वत् फेरिदासम्म टिक्दैन। यो वर्ष पनि यही क्रम दोहोरिएको छ । कार्यालयभन्दा पाँच सय मिटर नजिकै गरिएको कालोपत्रे हेरे मेची राजमार्गको मर्मतको गुरणस्तर  कस्तो छ भन्ने जान्न काफी हुन्छ। अरु धेरै टाढा जानै पर्दैन । कार्यालयले जिम्मेवार पूर्वक अगनुमन निरीक्षण नगर्दा यस्ता गुणस्तरहीन काम दोहोरिरहने गरेको छ ।

वर्षेनी मर्मतमा कराेडौं खर्च हुने तर राजमार्गको अवस्था भने जस्ताको तस्तै । यसैले मेची राजमार्ग राज्यको पैसा दोहोन गर्ने माध्यमका रुपमा मात्र उपयोग हुँदै आएको छ । ….. मिलेर खाउँ भाले भने जस्तै गरे मर्मतको नाममा राज्यको पैसा झ्वाम पार्नका लागि मात्र मर्मत गरिने भएकाले मर्मत गुणस्तहीन हुने गरेको छ । गुणस्तरहीन काम भएका विषयमा नागरिकस्तरबाट आवाज उठ्दा कार्यालयले भुक्तानी रोक्ने रेडिमेट उत्तर दिने गरेको छ । तर, पुनः उस्तै गुणस्तरहीन टालटुलपछि भुक्तानी दिएर राज्यको ढुकुटी रित्याउने खेल नियमित चलिरहेकै छ । कि कार्यालयले वर्षौंदेखि भएका यस्ता गुणस्तहीन कामहरुको भुक्तानी रोकेको छ ? यदि त्यस्तो हो भने गुणस्तरहीन काम गर्ने निर्माण व्यवसायी र भुक्तानी रोकिएको रकम कार्यालयले सार्वजनिक गर्न आवश्यक छ । यदि त्यसो हाेइन भने गुणस्तरीहीन काम गर्न कार्यालय आफैंले प्रोत्साहन गरिरहेको घाँम जत्तिकै छर्लंग हुन्छ । एक पटक, दुई पटक या केही ठाउँमा प्राविधिक समस्याका कारण कालोपत्रे चाडै उक्किएला तर वर्षौंदेखि यसरीनै मर्मत र निर्माणका काम महिना दिनसमेत नटिक्ने गुणस्तरहीन हुन सक्ला र ? यसैले मेची राजमार्गलाई माध्यम बनाएर राज्यको ढुकुटी कुम्ल्याउने प्रवृत्ति आजैदेखि रोकौं । गुणस्तरीय काम हुन सक्छ भने राज्यको लगानी गरौं नत्र मर्मतको नाममा नागरिकले खाइनखाई तिरेको रकमको चरम दुरुपयोग बन्द गरौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार