गुरुको सम्मानमा गुरुदक्षिणा

  आवाज संवाददाता

आफूलाई शिक्षा दिक्षा दिने गुरुहरुलाई उनका शिष्य अर्थात विद्यार्थीले कस्तो सम्मान गर्लान ? सम्मान गर्ने पनि आ–आफ्नै शैली हुन्छन् । त्यस्तै सम्मानको शैली नारायण चँदाराले गरेका छन् ।
चँदारा पेशाले सरकारी कर्मचारी हुन् । उनले आफूलाई क ख सिकाउने देखि सरकारी सेवामा प्रवेश गर्दा सम्म ज्ञान आर्जन गर्न सिकाउने आफ्ना गुरुहरु प्रति गुरुदक्षिणा दिएर सम्मान गरेका छन् । आफूलाई ज्ञान हासिल गर्न सिकाउने प्राथमिक तह देखि माध्यमिक तह सम्मका १८ जना गुरुहरुको जीवनीलाई शब्दमा उतारेर गुरुदक्षिणा गरेका छन् ।
माइजोगमाईको संखाबुङ्ग प्रावि देखि नयाँबजार स्थित अमरकल्याण माविका र झापाका विभिन्न विद्यालयका गरि १८ जना गुरुहरुको जीवनी संग्रहलाई गुरुदक्षिणा नाम दिएर कृति सार्वजनिक गरेका छन् । माइजोगमाईको नयाँबजारमा दुईदिन सम्म चलेको साहित्यिक कार्यक्रमका बीच गुरुदक्षिणाको विमोचन गरिएको हो । कार्यक्रममा गुरुदक्षिणासहित दुर्गा प्रसाद पौडेलको छरपस्ट कविता संग्रह केशवराज पौडेलको कामना कविता संग्र्रहको विमोचन गरिएको थियो ।
गाउँपालिका उपाध्यक्ष प्रबिना राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गुरुदक्षिणामा समेटिएका १८ जना व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । थुम्के साहित्यिक समूहको आयोजनामा सम्पन्न कार्यक्रममा प्रतियोगितात्मक कवि गोष्ठी आयोजना गरिएको थियो । कार्यक्रममा साहित्यकार डा. देवी क्षेत्री दुलाल ,झापाली श्रस्टा तथा आख्यानकार कुमार भट्टराई, म र ब क्याम्पस इलामका उपप्राध्यापक केशबहादुर राई, कृतिकार इच्छा राम कट्टेल, अमरकल्याण माविका प्रधाननाध्यापक डीबि भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार