सगरमाथा चुचुरोमा इलामे युवन्तिका

सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङले सगरमाथा चुचुरो चुमेकी छन् । तामाङले आज (शुक्रबार) बिहान ६ः५० बजे सगरमाथा शिखरमा पाइला टेकेको एसियन ट्रेकिङले जनाएको छ । एसियनका एक्स्पिडिसन म्यानेजर सञ्जय बरालले युवन्तिकासहितको टोली अहिले आधार शिविरतर्फ फर्किरहेको बताए । ‘उहाँहरू आज क्याम्प टु आइपुग्नुुहुनेछ र भोलि दिउँसो आधार शिविर आउनुहुनेछ,’ बरालले भने, ‘चुचुरामा पुगेपछि उत्साह हुन्छ तर फर्किंदा धेरै जोगिनुपर्ने हुन्छ, धेरै उत्साहले समस्या निम्त्याउनसक्ने भएकाले सुरक्षित हिसाबले आइपुग्न समय लाग्छ ।’ सगरमाथा शिखरमा पाइला टेक्ने उनी सम्भवत ः इलामको पहिलो महिलासमेत हुन् ।

युवा संघ नेपाल जिल्ला सचिवालय सदस्यसमेत रहेकी युवन्तिाकाले सगरमाथा शिखरमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेकी छिन् । उनले राष्ट्रिय झन्डा र युुवा संघ नेपालको झन्डासमेत फहराएको संघका स्थायी कमिटी सदस्य निरोज पौड्यालले जानकारी दिए ।
पार्टी अध्यक्ष ओली र गृहजिल्ला इलाम नै भएका संविधानसभा अध्यक्ष तथा इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङले तामाङलाई राष्ट्रिय झन्डा र आफ्नो पार्टीको झन्डा प्रदान गरी सगरमाथा आरोहणका लागि बिदा गरेका थिए । अहिले इलाममै रहेका नेम्बाङले सूर्याेदय नगरपालिकाकी चेलीले गरेको साहसिक कामले सिंगो इलामको शिर उच्च बनाएको बताए । ‘इलामकी छोरी युवन्तिका सगरमाथा चुचुरोमा पुगेको खबर पाएर ज्यादै उत्साही छु, हामी सबै इलामबासीले गर्व गर्ने विषय हो यो,’ नेम्बाङले भने, ‘निकै साहसी र आँटिली इलामे चेली युवन्तिकाले विश्वका अरू अग्ला हिमालसमेत आरोहण गर्ने सपना मलाई सुनाउनुभएको छ ।’
युवन्तिकाले यसअघि ६ हजार १ सय १९ मिटर उचाईको लोगुचे हिमालको सफल आरोहण गरिसकेकी छिन् । ५ अक्टोबर २०२१ मा उनले सगरमाथानजिकैको लोगुचे आरोहण गरेकी थिइन् । सूूर्याेदय नगरपालिकाका युवराज वाशिष्ठले युवन्तिकाले सगरमाथामा पाइला राख्नु महिलाको मात्र नभएर सम्पूर्ण इलामेको चिनारीको विषय भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार