त्यो सबै मै हो!

कसैले कल गर्दैन भन्ने जानेर

मोबाइल साइलेन्टमा राखी

दुईदुई मिनेटमा पकेटबाट झिक्दै

हेर्ने पनि मै हो!

कसको पो म्यासेज आउँछ र

भन्दै म्यासेन्जर अनइन्स्टल गरेर

दुई घन्टामै खटपटिले

पुन: इन्स्टल गर्ने पनि मै हो!

एक्लै छु भनेर जान्दा जान्दै

पनि कोहि छ भन्ने आशामा

बाच्ने पनि मै हो!

कसैको मृत्युको खबर सुन्दा

हसातिने मान्छे आफ्नै हातमा

कसैले देह त्याग गर्दा

निर्भीक भएर

बस्ने पनि मै हो!

भौतिक शरीर नै नरहेकाहरुसग

बात मारेर एक्लै हास्ने

अनि रुनेपनी मै हो!

आफूसँग एक सय रुपैयाँ सम्म

नभएको बेला साथीले

एक लाख माग्दा हाँस्दै

कोशिश गर्छु यार

भन्ने पनि मै हो!

कयौं ठुला तनावले

आफुलाई थलाएको बेला

साथीको नाथे ब्रेकअप वाला टेन्सन

सुनेर आफूपनि त्यही टेन्सनको

भागिदार बन्ने पनि मै हो!

भोकै सुतेको दिन

कसैले खाना खायौं भनेर सोध्दा

मासु भात खाए आज त

भनेर गफ दिनेपनि मै हो!

तिमिलाई चुनावमा उठ्

भन्नेपनि मै हो!

तिमी असक्षम छौ

जान्दाजान्दै पनि सिक्छौ

भन्ने आशामा आफू भोट हाल्दै

अरुलाई पनि भोट हाल्न

उकास्ने पनि मै हो!

आफ्नै दलबाट तिमीलाई हराउन

उठेका ती बागिहरुलाई

अनेकौं झुट बोलेर

थपथपाउने पनि मै हो!

तिम्रै नाममा जिन्दावाद जिन्दावाद

भन्दै सारालाई हात उठाउन

लगाउने पनि मै हो!

भोट नदिनेहरुका अगाडि

तिमीलाई काँधमा बोकी बोकी,

गाउँघर सारा घुमाउने पनि मै हो!

अहिले तिमीले मलाई

नचिन्दा र कुकर्म गरेको सुन्दा

भित्रभित्रै चित्त दुखाउने पनि मै हो!

कसैले एउटा कुरा सुनाए

त्यसैमा रुमलिएर टाउको

दुखाउने पनि मै हो!

गरिब छु भन्ने जान्दाजान्दै

पनि राम्रा राम्रा चिजहरुमा

मात्रै आँखा डुलाउने पनि मै हो!

यहाँ मेरा आफ्ना कोही हिड्दैन्न

भन्ने बुझेर पनि साझपख

बाटोमा निस्किएर

प्रत्येक गाडी र बाईहरु हेर्दै

डुल्ने पनि मै हो!

केटीहरुले तिमी त कहिल्यै

रोएको देखेको छैन भन्दा

भकानिएरभित्र हिक्क-हिक्क गर्दै

बाहिर हास्ने पनि मै हो!

अरुको मन दुख्ने डरले,

अरुको भावनामा चोट पुग्ने

चिन्ताले भन्नै पर्ने कुराहरु

नभनी आफैलाई दुखाएर

बस्ने पनि मै हो!

सबैलाई राम्रो गर्दागर्दै पनि

कति ठाउँमा मान नपुगेर

आफै अपमान हुने पनि मै हो!

जानीनजानी गल्तीहरु गर्ने

अनि गल्तीवाट सिक्छु

भन्दै आफैलाई ढाडस दिएर

चित्त बुझाउने पनि मै हो!

भर्खरै चल्ला कोरलेको पोथीलाई

चिलले लगेपछि

चल्लाको हविगत महसुस गर्दै

ठूली हुनेपनि मै हो!

तिमीलाई आमाको माया लाग्छ!

भन्दै सोध्ने मुर्खहरुको सामु

आँसु मात्रै जवाफ दिने पनि मै हो!

आफ्नै भन्नेहरुबाट घात प्रतिघातक हुँदै

पलपल मारिएर जिउने

साहस लिने पनि मै हो!

तिमी कोहीसँग प्रेममा छौ भनेर

सोध्दा ‘जीवन र प्रेम दुवै अनिश्चयताका पर्याय हुन्’

भन्दै घुमाउरो जवाफ दिएर

आफ्नो बडप्पन देखाउन खोज्ने पनि मै हो!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार