यस कारण कोशीकिराँत वा सगरमाथा

  डा. देवी क्षेत्री दुलाल


धेरै पहिले भइसक्नु पर्ने काम अहिलेसम्म पनि १ नं प्रदेशको नामाकरण भएको छैन । यो नेत्रित्वको असक्षमता बाहेक अरु केही होइन । जनस्तरबाट आफ्नो प्रदेशको नामाकरण यथासक्य छिटो होस भन्ने चाहाना विभिन्न सञ्चार माध्यममा अभिब्यक्त भइरहेका छन । यसलाइ जनताले सरकारलाइ सघाएर आफ्नो कर्तब्य पुरा गरेको अर्थमा बुझ्नुपर्छ । सातवटा प्रदेश मध्ये पाँचवटा प्रदेशको नाम र राजधानीको टुङ्गो लागेर आवश्यक काम समेत प्रारम्भ भइरहेका छन । प्रदेश १ ले राजधानी विराटनगरलाइ तोकेर प्रदेशको नामाकरण थाँती राखेको पनि धेरै भइसक्यो । प्रदेश २ ले आफ्नो प्रदेश र राजधानीबारे कुनै काम गर्न सकेको छैन । अहिले आएर प्रदेश मुख्यमन्त्री शेरधन राइले प्रदेशको नामाकरण सम्बन्धमा विभिन्न रजनीतिक दलसँग सहमतिको खोजी गरिरहनुभएको भन्ने चर्चा आएको छ । यो प्रदेश संसद र सरकारको अत्यावश्यक विजिनिस हो । यसलाइ अभिलम्ब सम्पन्न गरिनुपर्छ । अगे संसद र सरकारको नियमित आयु काउन्टडाउन सुरु भैसक्यो, चेतना होस ।
मुलत: १ नं प्रदेशको नाम कोशीकिराँत, लिम्बूवान, खम्बुवान, किराँत, कोसी, सप्तकोशी, सगरमाथा, मेची, कन्चनजङ्गा, विराठ आदि मध्ये कुनै एक हुनपर्छ भन्ने जनमाग उठिरहेको देखिन्छ । कसैकसैले अङ्कलाइ आधार मानेर १ नं प्रदेश भए पनि हुन्छ भनिरहेका छन । यस सन्दर्भमा म एकजना राजनीति शास्त्रको विधार्थी हुनुको नाताले १ नं प्रदेशको नाम कोशीकिराँत वा सगरमाथा हुनुपर्छ भनिरहेको छु ,किन ?

किन भने:

१ . हाम्रो प्रदेश जातीय, धार्मिक, भाषिक र साँस्कृतिक विविधतायुक्त छ । यसमध्ये कुनै एकको बहुमत छैन, आंशिक बहुलता मात्र छ । मुलत: किराँतीहरुको ऐतिहासिक थातथलो हो , त्यसमध्ये पनि राइ, लिम्बु र लेप्चाको आदि थलो हो । यो ऐतिहासिक तथ्यलाइ सबैले सगर्व स्वीकार्नु पर्छ । समाज विकाशको क्रममा सदियौं पहिलेदेखि अन्य विभिन्न जातजाति यो क्षेत्रमा आएर आपसमा मिलेर बसिरहेका छन, त्यसैको निरन्तरता र सम्मुन्नत परिणाम हो आजको सप्तरङ्गी सुन्दर नेपाली समाज ।

२ . भौगालिक दृष्टिमा पनि हिमाल, पहाड र तराइ मिलेर बनेको छ । संसारकै सर्वोच्च शिखर सगरमाथा देखि नेपालको सबैभन्दा होचो भाग केचनकवल पनि यसै क्षेत्रमा पर्छ । जलप्रवाहका दृष्टिले पनि सम्मुन्नत छ , सातवटा कोशी यहीं बग्छन ।

३ . सभ्यताका दृष्टिले किराँत र आर्य सभ्यता मुख्य छन । त्यसमा पनि किराँत सभ्यता सर्वाधिक महत्वपूर्ण छ ।

यसर्थ राजनीति शास्त्रका विविध जारगन जति फुलबु्ट्टा भरेर शब्द खेलाए पनि प्रदेश नामाकरणका मुल आधार यीनै हुन । यीनै आधारभित्रबाट हामीले हाम्रो प्रदेशको सके सर्वस्वीकार्य नभए अधिक स्वीकार्य नाम खोज्नपर्छ । परदेशको नक्कल गरेर होइन, घरदेशको धरातलीय यथार्थभित्रैबाट हामीले हाम्रो प्रदेशको नामाकरण गरौं । सप्तकोशी नदीको समुच्चतमा ऐतिहासिक किराँत सभ्यतालाइ जोडेर पहिलो प्राथमिकतामा कोशीकिराँत नामाकरण गरौं । र त्यो नभए दाश्रो प्राथमिकतामा भूगोललाइ आधार मानेर सगरमाथा नामाकरण गरौं । यसो गर्दा सबैको समान अपनत्व, सम्मान र सम्योजन हुन्छ । आफुले भनेको मात्र ठीक अरुले भनेको बेठीक भन्ने हाम्रो मनोरोगलाइ सबैले त्यागौं । सबै जिम्मेवार राजनीतिक पार्टी जात,गोत्र,नाक,जनै,जाँड,क्षेत्र र धर्मको दायराबाट माथि उठेर राजनीतिक दर्शन र सिद्धान्तको आलोकमा अघि बढौं । सबैभन्दा पहिले मान्छे हौ भन्ने सोचौं,त्यसपछि नेपाली अनिमात्र तपशिलका जातजाति हौं भनौ.। यो नै हाम्रो शक्ति,सौंन्दर्य,एकता र समस्या समाधानको साझा सूत्र हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार