राष्ट्रिय जनगणना पछि सारिने, उपाध्यक्षले बोलाए तथ्यांक परिषद्को बैठक

  आवाज संवाददाता

इलाम।केन्द्रीय तथ्यांक विभागले प्रत्येक दश–दश वर्षमा सञ्चालन गर्दै आएको राष्ट्रिय जनगणना तोकिएको समयमा सञ्चालन गर्न कठिन हुने भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आज तथ्यांक परिषद्को बैठक बोलाएका छन् । तथ्यांक परिषदमा आयोगका उपाध्यक्षले नेतृत्व गर्छन् भने सबै मन्त्रालयका सचिव र केन्द्रीय तथ्यांक विभागका महानिर्देशकले प्रतिनिधित्व गर्छन् । तथ्यांक परिषद्ले राष्ट्रिय जनगणना सञ्चालनका लागि नयाँ समयतालिका निर्धारण गर्ने बताइएको छ ।

विभागको पूर्व निर्धारित समयतालिका अनुसार वैशाख २५ देखि सुपरिवेक्षकहरू र जेठ २५ देखि गणकहहरू खटाएर राष्ट्रिय जनगणना गर्न लागिएको थियो । अहिले सुपरिवेक्षक र गणकहरूको तालिममा समेत समस्या परेको छ । तालिम लिएका सुपरिवेक्षकहरू समेत परिवारमा कोभिड–१९ देखिएको, कन्ट्याक्ट ट्रेसिङमा परेको तथा आफैं संक्रमित भएको बताउन थालेका छन् । यसैबीच केही दिन अघि वीरगञ्जमा आयोजित सुपरिवेक्षकहरूको तालिम स्थगित गरिएको छ ।
‘अहिले घरपरिवारको तथ्यांक लिन जाने स्थिति छैन । तथ्यांक परिषद् बैठकबाट आवश्यक निर्णय गर्छौं,’ कँडेलले भने ।

सुपरिवेक्षकहरूले स्थानीय घरपरिवारको लगत संकलन गरेपछि खटिने गणकहरूले लिने विस्तृत तथ्यांक तथा गणकहरूको समेत सुपरिवेक्षण गर्छन् । कतिपय संस्थानमा सुपरिवेक्षककै तालिम सम्पन्न गर्न बाँकी छ भने गणक तालिम सञ्चालन गर्न कठिन छ । अहिले देशका सबै स्थानमा निषेधाज्ञा नभए पनि प्रमुख सहरहरूमा निषधाज्ञा थपिने क्रममा छ । स्वास्थ्य मन्त्रालयको प्रक्षेपण अनुसार संक्रमण दर असारमा उच्च बिन्दूमा पुग्ने भएकाले त्यसलाई समेत मध्यनजर गरी राष्ट्रिय जनगणनाको नयाँ समयतालिका निर्धारण गरिन लागेको हो । ईकागजबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार