किसानलाई मिनी ट्रेलर र टनेल


इलाम।इलाम नगरपालिका वडा नं. २ सुम्बेकले किसानहरुलाई मिनी टेलर ( कृषि औजर) मेशिन र टनेल वितरण गरेको छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले किसानहरुलाई मिनी ट्रेलर वितरण गरेर वितरण कार्यक्रमको शुरुवात गरेका थिए । वडा कार्यालयले ११ थान मिनी ट्रेलर र ९५ थान टनेल पाल वितरण गरेको हो । ५०–५० प्रतिशतको सहभागितामा ११ वटा ट्रेलर किसानलाई वितरण गरिएको वडाध्यक्ष नारद लम्सालले बताए । यसरीनै छ लाख आठ हजार बराबरको टनेल पाल वितरण गरिएको पनि उनले बताए । यसअघि पनि वडाले किसानहरुलाई बोयर जातको बीउ बोका किसानहरुलाई वितरण गरेको थियो ।

सामग्री वितरण गर्दै इलाम नगरपालिका प्रमुख बस्नेतले इलाम नगरपालिकाका अधिक जनसंख्या कृषिमा निर्भर रहेकाले कृषिलाई निर्वाहमुखीबाट व्यावसायिकरण गर्नका लागि नगरले किसानहरुलाई हौसला प्रदान गरेको बताए ।

वडाध्यक्ष नारद लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा नगरका प्रवक्ता ठाकूरनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, नेकपा वडा कमिटीका अध्यक्ष गिरीराज रिजाल, सुम्बेक माविका अध्यक्ष उमाकान्त पोख्रेललगायतले बोलेका थिए ।

कार्यक्रममा वडा कार्यालयका अवकाश प्राप्त भोला सुवेदीलाई सम्मान पनि गरिएको थियो ।
वडा सदस्य सरिता दियालीले स्वागत गरेको कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भूजेल, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि र किसानहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार