इलामका दुवै क्षेत्रमा गठबन्धनमा बागी उम्मेदवार


इलाम । इलामका प्रतिनिधिसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धन उम्मेदवारविरुद्ध बागी उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विक्रम पाण्डे र क्षेत्र २ मा कांग्रेसकै जुनु माखिमे बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
पाण्डले गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालविरुद्ध उम्मेदवारी दिएका हुन् । उनी कांग्रेसको पकड भएको क्षेत्र बागबिरेका पुराना नेता हुन् । अहिले पार्टीको क्षेत्रीय प्रतिनिधि रहेका पाण्डेले यसअघि पार्टीभित्र तल्लो तहदेखि क्षेत्रीय र जिल्ला समितिमा समेत जिम्मेवारी पूरा गरिसकेका छन् । उनी पटक–पटक कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत भइसकेका छन् ।
पाण्डेको उम्मेदवारीले क्षेत्र नम्बर १ को सत्ता गठबन्धनभित्र ‘हलचल’ पैदा गरेको छ । पाण्डेले गठबन्धनभित्र इलाम क्षेत्र १ नेकपा (एस)को भागमा पर्नेबित्तिकैदेखि आफू उम्मेदवार बन्नेगरी चुनावी तयारी गरेका थिए । ‘यो अप्राकृतिक गठबन्धनको कुनै अर्थ नभएकाले मैले पहिल्यैदेखि यसको विरोध गरेको थिएँ, चुनावको तयारी पनि गरेको थिएँ,’ उनले भने, ‘अहिले आएर कांग्रेस पार्टीको झन्डा र चुनाव चिह्नकै बेइज्जत हुनेगरी उम्मेदवारी भागवन्डा गरिएकाले मैले बाध्य भएर कांग्रेस बचाउने बाटो तय गरेको हुँ ।’
उनले इलाममा दुग्ध वितरण आयोजनाको दूध संकलन केन्द्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । किसानलाई आयोजनाले दूधको मूल्य ज्यादै कम दिएका बेला मूल्य बढाउन किसान आन्दोलनको नेतृत्व गरी सफल भएको स्मरण स्थानीयले गरेका छन् ।
पाण्डेले देशको प्रधानमन्त्रीसमेत भइसकेका खनालले करिब तीन दशकसम्म यहाँको नेतृत्व गर्दा नागरिकको अवस्था सुधार हुन नसकेको बताए । ‘खनालको काम हामीले तीन दशकदेखि हेरेका छौं, हिजोसम्म उनको काम चित्त नबुुझाएर विरोध जनाउँदै जनता सचेत गर्न हिँडेको त्यही कांग्रेस आज उनै खनाललाई पुनः भोट जिताऔं भन्दै काँधमा बोकेर हिँड्नुपरेको छ, मैले त्यसो गर्न सकिनँ,’ पाण्डेले भने, ‘कांग्रेसको इतिहास, वर्तमान र भविष्य बचाउनुपर्छ भन्ने कांग्रेस साथीहरू अहिले पनि मसँगै हुनुहुुन्छ ।’ उनले आफूलाई उम्मेदवारी फिर्ता नलिन र जिताउने विश्वास दिलाउँदै जिल्लास्थित कांग्रेसका अगुवा नेता र युवाहरूले सम्पर्क गरिरहेको बताए । ‘कांग्रेस बचाउनुपर्छ भन्ने साथीहरू धेरै हुनुहुन्छ,’ उनले भने, ‘र, उहाँहरूको साथले नै म भोट जित्छु भन्ने विश्वास पनि छ ।’
गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा समेत इलाम क्षेत्र १ को मुख्य पालिका सूर्याेदय नगरपालिका र माइजोगमाई गाउँपालिकाको प्रमुख पद नेकपा (एस)कै भागमा परेका थिए । दुवै पालिकाको प्रमुख पद गठबन्धनबाट नेकपा (एस)को भागमै परेपछि कांग्रेसजन त्यतिबेलै असन्तुष्ट थिए । तीमध्ये सूर्याेदयको प्रमुख पद नेकपा (एस)ले जोगायो भने माइजोगमाईको अध्यक्ष पदमा पराजित भयो ।
माइजोगमाईको अध्यक्ष पदमा गठबन्धन पराजित हुँदा आक्रोशित नेता खनालले कांग्रेसले आफ्ना उम्मेदवारलाई धोका दिएको सार्वजनिक अभिव्यक्ति दिए । उनले ‘कांग्रेसका मतदाताले गठबन्धनका उम्मेदवारलाई भोट नदिइ एमालेका उम्मेदवारलाई जिताएको’ गम्भीर आरोपसमेत लगाएका थिए । उनको अभिव्यक्तिपछि कांग्रेसका जिल्ला समितिकै कतिपय नेता र कार्यकर्ताले खनालको चर्काे विरोध जनाए । उनीहरूले आइन्दा खनाललाई कुनै पनि अवस्थामा समर्थन नगर्नेसमेत सामाजिक सञ्जालमै लेखेका थिए ।
त्यतिमात्र होइन, खनालको दल नेकपा (एस)ले जिल्ला समन्वय समिति र सूर्याेदय नगरपालिकाको कार्यपालिका गठनमा तत्कालीन सत्ता गठबन्धन भत्कायो । गठबन्धनबाट अलग भएर नेकपा (एस)ले जिसस र सूर्याेदयको कार्यपालिका गठनमा एमालेसँग तालमेल ग¥यो । यो गठबन्धनका सबै उम्मेदवार विजयी पनि भए । त्यसपछि कांग्रेसभित्र खनालप्रतिको असन्तुष्टि अझ चुलिएको छ ।
‘हिजोको खनालको काम र कांग्रेससँग गरेको गठबन्धन, त्यसपछि दिएको धोका सम्झिँदा सच्चा कांग्रेसले खनाललाई भोट हाल्ने आधार छैन,’ बागी उम्मेदवार पाण्डे भन्छन्, ‘अर्काे कुरा खनाल यो क्षेत्रका पाहुना उम्मेदवार पनि हुन् । अहिलेसम्म यो क्षेत्रबाट जितेर जानेहरू यही क्षेत्रका उम्मेदवार थिएनन्, पाहुना नै थिए ।’ खनालको जन्मघर इलामको साखेजुङ जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा पर्छ । २०५६ सालमा यही क्षेत्रबाट एमालेका उम्मेदवार खनाललाई हराएका कांग्रेसका बेनुपराज प्रसाईंको घर पनि क्षेत्र २ मै पर्छ ।
इलाम क्षेत्र १ मा नेकपा (एमाले)का जिल्ला अध्यक्ष महेश बस्नेत प्रतिस्पर्धी उम्मेदवारका रूपमा छन् । यो क्षेत्रबाट जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस (बिपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मीको उम्मेदवारी छ ।

क्षेत्र नम्बर २ मा माखिम
क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका नेपाली कांग्रेस जिल्ला सभापति डम्बर खड्काविरुद्ध कांग्रेसकै महाधिवेशन प्रतिनिधि जुनु माखिमले उम्मेदवारी दिएकी छिन् । उनले पार्टीले आफूलाई टिकट नदिने भएपछि मनोनयन दर्ताको अघिल्लो दिन (असोज २२) मा पदबाट राजीनामा दिएको र स्वतन्त्र उम्मेदवारी दर्ता गराएको बताइन् ।
‘मैले २ नम्बर क्षेत्रबाट महिलाले नेतृत्व गर्नुपर्छ भन्ने प्रस्ताव राख्दा पार्टीभित्र कसैले सुन्न चाहनुभएन,’ उनले भनिन्, ‘राजीनामा दिएर भएपनि चुनावमा महिलाको उम्मेदवारी हाल्छु भन्दा पनि राजीनामापत्र बुझ्न नमानेपछि सामाजिक सञ्जालमार्फत् राजीनामापत्र दिएर स्वतन्त्र उम्मेदवारी दिएकी हुँ ।’ उनले पार्टीभित्र गुटबन्दी हाबी भएको भन्दै आफूले विद्रोह गरेको जनाइन् ।
यो क्षेत्रमा नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन् । उनले यो क्षेत्रमा २०५६ सालयताका सबै संसदीय र संविधानसभा निर्वाचन जितेका छन् । आउँदो निर्वाचनमा पनि नेम्बाङ र गठबन्धनका उम्मेदवार खड्काबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन धेरै मतदाताको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार