नेपालबाट भारत पनि विक्री हुन्छ गाडी !

  आवाज सम्वाददाता


इलाम। नेपालमा गाडीहरुको उत्पादन हुँदैन । त्यसैले नेपालमा गुड्ने गाडी विदेशबाटै आयात हुने गरेको छ । त्यसमा पनि अधिकांश भारतबाट आयत हुने गरेको छ । हामीले सुनेको, देखेको भनेकै नेपालमा भारतबाट सानादेखि ठूला गाडीहरु आयात हुन्छ भन्ने हो । तर, नेपालबाट भारत पनि गाडीहरु विक्री भइरहेका छन् भन्दा पत्याउन गाह्रो हुन्छ । नेपालबाट भारत गाडीहरु विक्री भइरहेका छन् तर अवैध रुपमा । त्यो पनि नयाँ होइन पूराना गाडीहरु । पूराना गाडी भन्दा कवाडी भन्ने बुझ्नु होला । त्यो पनि होइन । गुडिरहेका । कण्डिसनका सवारीहरु नेपाल र भारतका व्यवसायीहरु बीच किनबेच गरिरहेका छन् । इग्ल्याण्डमा बनेर नेपालमा चलिरहेका पूराना ल्याडरोभर गाडीहरु राम्रो दाममा खोजी खोजी भारतीयले खरिद गर्ने गरेको एक यातायात व्यवसायीले बताए ।
नेपालले २० वर्षे गाडीहरुलाई चल्न चलाउन प्रतिवन्ध लगाए पनि भारतले भने यस्ता पूराना गाडीहरुलाई छुट्टै नम्बर दिएर संरक्षण गर्ने गरेको यातायात व्यवसायीहरु बताउँछन् । थन्किएका र थन्किन लागेका पूराना ल्याडरोभरहरुको कण्डिसन हेरेर भारतीय व्यवसायीले मूल्य दिने गरेको बताइन्छ । पूरानो ल्याण्डरोभर तर कण्डिसनको छ भने त्यसको मूल्य अझ धेरै दिने गरेको व्यवसायी बताउँछन् । ‘यता नचल्ने अवस्थामा पुगेका ल्याडरोभरहरु पनि उता १३ लाख रुपैयाँसम्ममा विक्री हुने गरेको छ’ नाम नबताउने शर्तमा एक व्यवसायी भन्छन्, ‘उता भने भारतले प्रोत्साहन गरेर फरक नम्बर प्लेट दिने गरेकाले सौखिन व्यक्ति र पर्यटन व्यवसायीहरुले अधिक खोज्ने गरेका छन् ।’
यस्ता गाडीहरु भने अवैध रुपमा नेपालको खुल्ला सीमाना पार गर्दै भारत प्रवेश गर्दछन् । सीमासम्म नेपाली नम्बर प्लेटमै गुडेर जाने यस्ता गाडीहरु भारत प्रवेशपछि नेपाल नम्बर हटाएर उतैको नम्बर प्रयोग गर्ने गरिएको छ । नेपालको इलामको पुशपतिनगर, माने भञ्ज्याङ, भैरहवा, विरगञ्जलगायत खुल्ला सीमा भएकाले सहजता हेरेर भारत तर्फ सवारी साधनहरु भारत विक्री गर्ने गरिइएको छ । अहिले नेपालका विभिन्न क्षेत्रमा भएका पूराना ल्याडरोभर गाडीहरु खोजी खोजी भारत निकासी भइरहेका छन् । पूराना ल्याडरोभर बाहेक पूरानो टोयटाको विजे १४ पनि भारतीय व्यवसायीले राम्रो मूल्यमा खरिद गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार