निर्दाेषलाई फसाएकाे आराेप लागेका एसपीमाथि छानविन

  आवाज संवाददाता

राैतहट । रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहविरुद्ध छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाउने योजनामा संलग्न देखिएको आशंकामा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले निरिक्षणालयका एसएसपी महतको संयोजकत्वमा छानबिन समिति बनाएका हुन् । एसपी शाह माथि अनुसन्धान हुने भएसँगै उनलाई काठमाडौं बोलाइएको हो । उनी बुधबार नै काठमाडौं आइसकेका छन् ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले अनुसन्धानबाट देखिएका तथ्य र प्रमाणका आधारमा संलग्न माथि कारवाही हुने बताए । रौतहटमा निर्दोष व्यक्तिलाई फसाउन नियोजित रुपमा गरिएको गतिविधीमा संलग्न उनमुक्ति नपाउने एसएसपी कुँवरले बताए ।

रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिको लागूपदार्थ राखेर पक्राउ गर्न लगाएको खुलेको थियो । उनको मोटरसाइकलमा लागूऔषध ट्याबलेट राख्ने कार्य गर्दै गर्दाको सीसीटीभी फुटेजमा देखिन्छ । फुटेजमा पत्रकार मजिबुल्लाह गत साउन ३२ गते सदरमुकाम गौरस्थित होटल ग्रिन सिग्नलमा खाजा खान बसेको बेला बाहिर पार्किङ गरी राखेको मोटरसाइकलको तल १ सय ५० पिस प्रतिबन्धित नाइट्रोभेट लागूऔषध बाँधेको देखिन्छ ।

सो घटना बाहिरिएसँगै त्यसमा संलग्न नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको थियो । पछि रौतहटका एसपीले एक पत्रकारसँग गरेको कुराकानीमा उनलाई यस योजना बारे पहिला नै थाह भएको देखिएपछि उनी माथि पनि अनुसन्धान सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार