एसईई परीक्षाकाे जिम्मा विद्यालयलाई दिइने

  आवाज संवाददाता

काठमाडौँ । सामाजिक दुरी कायम गरेर वा अनलाइनबाट भएपनि माध्यामिक शिक्षा परीक्षा एसईई सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ । यसका लागि वैकल्पिक भनिएको अनलाइन वा सामाजिक दुरी कायम गरेर भएपनि परीक्षा सञ्चालन गर्नुपर्ने निष्कर्षमा बोर्ड पुगेको छ ।

गएको वर्ष परीक्षा नलिएरै आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्दा चर्को आलोचना र अस्तव्यस्त भएपछि यसपटक बोर्डले विद्यालयलाई जिम्मा दिएर परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । यद्यपी यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय आउन बाँकी छ ।

कोभिड १९ महामारीका कारण भौतिक उपस्थितीमा बोर्डले तयार पारेका प्रश्नपत्र र कापी बाँडेर परीक्षा गर्ने सम्भावना कम हुँदै गएका बेला विद्यालयबाटै परीक्षा सञ्चालन गरेर मात्रै नतिजा निकाल्ने तयारी अघि बढेको हो ।

एसईईका बारेमा गठित कार्यदलले दिएको सुझाव अनुसार नै यस किसीमको परीक्षा गरेर नतिजा निकाल्नेबारे तयारी गरिएको र अनुमतिका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पठाइएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट अनुमति पाएमा अर्को हप्तादेखि नै परीक्षा सञ्चालनको तयारी अघि बढ्नेछ ।

‘वैकल्पिक माध्यमबाट भएपनि परीक्षा गर्नुपर्छ । गएको वर्षको पाठ सिकेर अघि बढ्दा परीक्षाको विकल्प देखिदैन’ अध्यक्ष पौडेलले इकागजसँग भने, ‘विद्यालयलाई जिम्मा दिने र वैकल्पिक माध्यमबाट परीक्षा गर्ने निष्कर्षसहित मन्त्रालयमा प्रस्ताव पठाएका छौँ ।’

कोभिड १९ महामारी भएपनि केही विद्यालयले काठमाडौँमै वैकल्पिक माध्यमबाट परीक्षा गरेका थिए । जसलाई अनलाइन माध्यम पनि भनिएको छ । परीक्षा लिएर मात्रै नतिजा पठाउनुपर्ने निर्णय गरेमा आन्तरिक मूल्यांकनको नाममा विद्यालयले पठाएको हुबहुँ अंक नतिजाका रुपमा निकाल्नु नपर्ने बोर्डका पदाधिकारीको बुझाई छ ।

सरकारले बढ्दो कोभिड १९ महामारीलाई नियन्त्रण गर्न जेठ १३ गतेदेखि सञ्चालन हुने एसईई परीक्षा बैशाख २७ गते नै स्थगित गर्ने निर्णय गरेको थियो । कोभिडका कारण कक्षा १२ को परीक्षा पनि रोकिएको छ । तत्काल वैकल्पिक माध्ययमबाट एसईई परीक्षा अगाडि बढाएर त्यसपछि महामारीको अवस्था अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए । ईकागजले समाचार लेखेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार