उद्योग वाणिज्य महासङ्घकाे वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान खारेज

नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चुन्ने व्यवस्था गरेर विधान संशोधनको मस्यौदा पेस भएको छ।

महासङ्घको ५४ औँ वार्षिक साधारण सभा निर्वाचित पहिलो कार्यकारी समितिको बैठकबाट गठित विधान संशोधन समितिले पेस गरेको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटाउन भनिएको छ।

विधान संशोधनमा गरिएको व्यवस्था महासङ्घको नयाँ नेतृत्व चयनका लागि अब हुने साधारण सभामा भने लागू हुनेछैन ।

५४ औँ साधारण सभाबाट अबको अध्यक्ष बन्ने गरी वरिष्ठ उपाध्यक्ष चुनिएकाले अर्को कार्यकालदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था नरहने विधान संशोधन समितिका सभापति कुशकुमार जोशीले जानकारी दिए। ‘अहिले वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्नुहुन्छ,’सभापति जोशीले उकेरासँग भने,‘अबको सधारणसभामा वरिष्ठ उपाध्यक्षको चुनाव हुँदैन, उपाध्यक्षको मात्रै चुनाव हुन्छ।’ महासङ्घको विधान संशोधन गरेर एक जना महिला उपाध्यक्ष अनिवार्य निर्वाचित हुने व्यवस्था गरिएको छ। यस्तै महासङ्घलाई बलियो बनाउन सात प्रदेशका संरचनाको प्रस्ट व्यवस्था विधानमा गरिएको सभापति जोशीले जानकारी दिए ।

अब महासङ्घको नेतृत्व चयनका लागि सात वटै प्रदेशमा एकै दिन चुनाव हुनेछ। जिल्ला नगर उद्योग वाणिज्य सङ्घबाट अब दुई उपाध्यक्ष निर्वाचित हुने व्यवस्था विधानमा गरिएको उनले बताए। यसअघि जिल्ला नगरबाट एक जना मात्रै उपाध्यक्ष निर्वाचित हुने व्यवस्था थियो। महासङ्घको संरचना अव गाउँपालिकासम्म बन्ने व्यवस्था विधानमा गरिएको छ। गाउँपालिका उद्योग वाणिज्य सङ्घ सम्बन्धित प्रदेशका सदस्य हुनेछन्। विधान संशोधन समितिका तर्फबाट सभापति जोशीले बिहीबार महासङ्घका अध्यक्ष शेखर गोल्छा समक्ष महासङ्घको विद्यमान विधान संशोधनको मस्यौदा पेस गरेको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार