चियाको नेपाली जात बनाउने अनुसन्धान सुस्त गतिमा


इलाम।  नेपालमा चिया रोप्न शुरु गरेको १५८ वर्ष पछि नेपाली जातकै चिया विकास गर्न थालिएको छ । वि.सं १९२० मा जंगबहादुर राणा प्रधानमन्त्री भएको समयमा रोपिएको दाना चियाकै विरुवा विस्तार गरेर आफ्नै जात बनाउने तयारी हुँदै गरेको चिया विस्तार कार्यालय फिक्कलले जनाएको छ ।

चिया तथा कफी विकास वोर्ड अन्र्तगत गरेका इलामका सातवटा चिया विस्तार कार्यालय र धनकुटा स्थित कृषि अनुसन्धान परिषद नार्क अन्तर्गत व्यवसायिक बारी अनुसन्धान केन्द्रमा चियाको नेपाली जात बनाउन वरुवा विस्तार र अनुसन्धानको काम भइरहेको चिया विस्तार कार्यालय फिक्कलबा प्रमुख इन्द्र अधिकारीले बताए ।

अधिकारीका अनुसार इलाम चिया बगान र कन्याम चिया बगानका दश–दश बोट चिया छानेर इलामका चिया विस्तार कार्यालयहरुमा विरुवा विस्तार गरिएको छ । यस्तै धनकुटामा माइ नगरपालिकामा रहेको सोक्तिम चिया बगानबाट लगिएको चियालाई विरुवा विस्तार गरिएको छ । करिब चार वर्ष अघि फिक्कलस्थित चिया विस्तार कार्यालयमा नेपाली जातको चियाका लागि अनुसन्धान शुरु गरिएको थियो । दार्जिलिङका चिया विज्ञ एस.के. प्रधानले शुरु गरेको अनुसन्धान दुईवर्ष अघि प्रधानको निधन सँगै रोकिएको अनुसन्धानको काम पुनः थालिएको अधिकारी बताए । ‘प्रधानले गरेको अनुसन्धानको सबै डकुमेन्ट सुरक्षित छ, त्यसलाई पनि आधार मान्दै अनुसन्धानको काम हुनथालेको छ ।’ अधिकारीले भने  ‘नयाँ जातका लागि विरुवा तयार भइरहेका छन् । अब यसलाई दर्ता प्रक्रिया तिर लानुपर्ने काम छ ।’

उता धनकुटामा पनि विस्तार गरिएको चियाको विरुवा पनि झ्याङ बनिने क्रममा छ । ‘हामीले सोक्तिमबाट जंगबहादुरकै पालामा रोपिएको दाना चियाकै विरुवा ल्याएर जगाएका छौं । अब केही समय पछि टिप्ने हुन्छ ।’ धनकुटास्थित नेपाल अनुसन्धान परिषद नार्क पाख्रिबासका प्रमुख डाक्टर गोविन्द्र तिम्सिनाले भन्नुभयो ‘यो विरुवाको उत्पादन, गुणस्तर हेरिन्छ, पहिला इलाममा पनि अनुसन्धानको काम भएको छ, त्यसलाई समेत जोडेर सकेसम्म हामी चियाको नेपाली जात चाँडो भन्दा चाँडो दर्ता गर्ने क्रममा जानेछौं ।’ चीनबाट चिया ल्याएर रोप्न शुरु गरिएको भएपनि पछिल्लो समय भारतबाट भित्रिएका जातकै विस्तार भइरहेको छ । भारतीय जात विस्तार गर्नुभन्दा आफ्नै जात तयार गर्नु उत्तम रहेको डाक्टर तिम्सिना बताउँछन् ।

चियाको नेपाली जात दर्ताका लागि बीउविजन गुण नियन्त्रण केन्द्रमा पठाइने छ । उनले भने ‘आफ्नै जात तार गर्न कम्तिमा आठ–दश वर्ष लाग्छ, तर हामीलाई दक्ष जनशक्ति र वैज्ञानिकहरुको अभाव छ । जनशक्ति हुने हो भने अनुसन्धानको प्रक्रिया लामो हुने थिएन ।’

नेपाली जात नहुँदा नेपाली चियालाई अन्य देशहरुले आफ्नो चिया भनेर दाबी गर्न सक्ने खतरा भने कायमै छ । अहिलेसम्म चीनबाट आएको बाहेक भारतबाट ल्याइएको अठ्ठतर, तग्दा, गुम्तीलगायतका जातहरु नेपाली बगानमा विस्तार भइरहेका छन् । यसवर्ष भने चियाको नेपाली जात तयारकै लागि संघीय सरकारबाटै एउटा कार्यक्रम रहेको चिया विस्तार कार्यालय फिक्कलका प्रमुख अधिकारीले जानकारी दिए । ‘चियाका लागि आएको नयाँ परियोजना र संघीय सरकारबाट आएको दुईवटै कार्यक्रमले गर्दा नयाँ जातका लागि यो वर्ष नयाँ काम अघि बढ्नेछ ।’ अधिकारीले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार