काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त भएका छन् ।
मुख्यमन्त्रीका लागि दावी पेस गरेका नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङ नियुक्त भएका हुन् । संविधानको धारा १६८ ९३० अनुसार गुरुङलाई प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बुधवार अपरान्ह ४ बजेसम्मको समय भित्र कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको पत्र लिएर पोखरेल प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए । तर, त्यहीबेला जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले आफू तटस्थ रहेको भन्दै आफूलाई दलको नेताबाट हटाइएको कार्यलाई मान्यता नदिन पत्र पठाएपछि घटनाक्रम अर्कैतिर मोडिएको थियो ।
त्यस लगत्तै जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले पनि आफू गठबन्धनमा नरहेको वक्तव्य दिएपछि चार दलको समर्थन भनिएपनि बहुमत नपुगेकाले गठबन्धनको दावी अश्वीकृत भएको हो ।