प्रतिमान विश्वकर्माको स्मृतिमा अक्षयकोष

       इलाम।दिवंगत प्रतिमान विश्वकर्माको स्मृतिमा परिवारले अक्षयकोष निर्माण गरेको छ । वि.सं. १९९६ चैत १२ गतेका दिन जन्मिएका भई वि.सं. २०६७ बैशाख ३१ गते दिवंगत विश्वकर्माको स्मृतिमा परिवारले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । सो अक्षयकोष बिहीबार एक कार्यक्रम गरेर सिद्ध माध्यमिक विद्यालय तिङ्देन पाँचथरको कुम्मायक गाउँपालिका वडा नं. ४ (साबिक रानीगाउँ गाविस–८)लाई हस्तान्तरण गरिएको छ ।

      अक्षयकोष विश्वकर्माकी श्रीमती पृथिमाया विश्वकर्मा, छोरा बुहारीहरू देवेन्द्र र कविता विश्वकर्मा, राजेन्द्र र शोभा विश्वकर्मा, छोरी जुवाइहरू खोमादेवी र हरि रसाइली, चन्द्र र अमृत रसाइली एवं छोरीहरू तारा विश्वकर्मा र माया विश्वकर्मा समेतको पहल र योगदानमा अक्षयकोष स्थापना र हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र सम्बाहाम्फेले बताए ।

       विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं कुम्मायक–४ का जननिर्वाचित वडाध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अक्षयकोषदाता पृथिमाया विश्वकर्मासहित परिवारले भौचर र चेकबुक हस्तान्तरण गरेको थियो भने विद्यालय परिवारले विश्वकर्माको योगदान समेटिएको धन्यवाद पत्र अक्षयकोषदाता परिवारलाई हस्तान्तरण गरेको थियो ।

     अक्षयकोषको रकमबाट प्राप्त हुने ब्याजले हरेक बर्ष चैत १२ गतेका दिन प्रतिमान विश्वकर्माको जन्मदिन पारेर उत्कृष्ट छात्रा र छात्र एक÷एक जनालाई छात्रवृत्ति प्रदान गरिने छ ।

कार्यक्रममा प्रतिमान विश्वकर्माका जेठा छोरा देवेन्द्र विश्वकर्माले अक्षयकोष स्थापनाको बारेमा बोलेका थिए भने विश्वकर्माका नाति नवराज शंकर,कुम्मायक गाउँ कार्यपालिका सदस्य तारा लुइँटेल, समाजसेवीहरू भुपेन्द्र रसाइली, पदम विश्वकर्मा लगायतले बालेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार