सोझोलाई कसरी सिध्याइन्छ ?

  आवाज सम्वाददाता

इलाम।आजभोलि सिधासोझो मान्छेलाई फसाउने आफू मोटाउनेहरुको कमी छैन । यस्तै दुई व्यक्तिले इलामका एक सोझा व्यक्तिलाई ललाई फकाई एक पैसा नदिई जग्गा हत्याएर घरबार विहीन बनाएका छन् । इलाम नगरपालिका वडा नं. ५ का सार्के लिम्बूलाई दुई व्यक्ति मिलेर हरि विजोग बनाएका छन् । फिर्ता दिने गरेर जग्गा आफ्नो नाममा पास गरेका पाँचथर फिदिमका सिसम जबेगू र फाकफोकथुम गाउँपालिका एकतप्पाका भक्तबहादुर लिम्बूले सार्के लिम्बूको श्रीमती पूर्णमाया लिम्बूको नाममा रहेको इलाम नगरपालिका वडा नं. ५ को कित्ता नं. १३५९ को ३ रोपनी ५ आना जग्गा १५ लाख रुपैयाँ दाम गरेर फिर्ता दिने शर्तमा खरिद गरेका थिए । तर, न खरिद गर्दाको पैसानै दिए न त जग्गानै फिर्ता दिए । २०७९ फागुन २० गतेसम्ममा फिर्ता दिने लिखित शर्त गरेका थिए ।
लिम्बूको श्रीमती पूर्णमायाको नाममा रहेको उक्त जग्गा सिसम जबेगूको नाममा रजिष्ट्रेन पास गरेका थिए । २०७६ फागुनमा रजिष्ट्रेशन पास गरे पनि लिम्बूको हातमा एक रपैयाँ पैसा हात परेन । बरु छिमेकीले आफ्नै जग्गा धितोमा राखेर लिएको १० लाख ९ हजार रुपैयाँ भने उनीहरुले तिरिदिने भने । १५ लाखमा बाँकी रकम चार लाख ९१ हजारको भने उनीहरुले चेक दिए । सिसमले २०७६ चैत २३ गतेको ३ लाख ४१ हजारको सिटिजन बैंकको चेक दिएका थिए भने भक्तबहादुर लिम्बूले गुडवील फाइन्सान्सको २०७६ भाद्र २३ गतेकै मितिमा चेक दिएका थिए । तर, यि चेकहरुबाट समेत उनले पैसा पाएनन् । चेक लिएर पटक पटक बैंक धाए । तर खातामा पैसा नभएको भन्दै बैंकले चेक नसाटिएको सार्के लिम्बूले बताए । चेक नसाटिएपछि उनले सिसम र भक्तलाई सम्पर्क गर्दा पैसा लगाइदिने भनेर झुक्याएको लिम्बुले बताए । शुरु शुरुमा पैसा खातामा लगाइहाल्छौं अनि साट्नु भने पछि गएर उनीहरु सम्पर्कविहीन भए । चेकको मिति समेत ख्याल गर्नुपर्छ भनेर सामान्य जानकारी समेत नभएका लिम्बू चेक बाउन्स गर्नुपर्छ भन्ने कुरा समेत आफूलाई थाहाँ नभएको बताउँछन्। अहिले पनि उनले यि दुई चेकसँगै राखेका छन् ।
एक पैसा हात नपारी दिएको जग्गा फिर्ता दिन्छन् भन्ने आशमा तपसुक समेत च्यापेर बसेका लिम्बूको होसहवास त्यतिखेर उड्यो जतिखेर आफ्नो घरजग्गा वित्तीय संस्थाले लिलामी गरेको सूचना आयो । २०७९ फागुन २० गतेसम्ममा फिर्ता दिने शर्त थियो तर त्योभन्दा अघिनै २०७९ साल मंसिर २० गतेनै वित्तिय संस्थाले घरजग्गा लिलामीको सूचना निकाल्यो । जग्गा फिर्ता होला भनेर बसेका उनको घरजग्गा लिलामीको सूचना देख्दा छक्क परे । फिर्ता गर्ने नाममा झुक्याएर पास लिएको जग्गा उनीहरुले सिममको नाममा गुडवील फाइनान्स लिमिटेड वित्तीय संस्थाबाट धितोमा राखेर ४० लाख ऋण लिएछन् ।  सावाँ ब्याज नतिरेकाले ऋण बढेर ४७ लाख ५० हजारभन्दा बढी भएपछि गुडवीलले लिलामीको सूचना प्रकाशन गरेको हो । आफू बसिरहेको घर जग्गा अब त फिर्ता गर्देला भनेर बसिरहेको बेला लिलामीको सूचना देख्दा आफू छाँगाबाट खसेझैं भएको लिम्बू बताउँछन् । ‘एक पैसा बिना फिर्ता गर्ने गरी जग्गा लगेका उनीहरुले यति ठूलो रकम वित्तीय संस्गाबाट लिए छन्’ उनले भने ‘तिरौं उपाय छैन, अन्तै जाउँ जाने ठाउँ छैन ।’ एक पैसा नदिई आफ्ना घरजग्गा लिएर वित्तीय संस्थालाई बुझाएपछि आफू अन्यायमा परेको भन्दै लिम्बूले स्थानीय तहदेखि गाउँघरका जान्ने बुझ्नेलाई न्याय दिलाइदिन हार गुहार गरिरहेका छन् । तर, ‘गरीबको चमेली बोलदिने कोही छैन’ भने जसरी उनलाई न्याय दिलाउनका लागि कोही अघि सरेका छैनन् ।
दुई वर्षपछि जग्गा फिर्ता दिने भनेर कागजी सहमतिनै भएको थियो । जग्गा फिर्ता गर्दा लाग्ने खर्च समेत आधा आधा वेहोर्ने लिखित सहमति भएकोमा यसरी बैंकमा धितो राखेर घरबारविहीन बताएको लिम्बुको गुनासो छ । खातामा पैसा नै नभएको चेक दिएर आफ्नो जग्गा हत्याएर सिसम र भक्तबहादुर दुवैजना सम्पर्कविहीन भएको उनले बताए । १५ लाखमा खरिद गरेका उनीहरुले मालपोत कार्यालयमा भने ७५ लाखमा खरिद गरेको कागजात बनाएका छन् । उनीहरुले फिर्ता गर्दा बढी रकम असुल्ने या त बैंकबाट बढी रकम ऋण लिनका लागि सुनियोजित ढंगले शुरुबाटै काम गरेको देखिन्छ । गुडवीलको पाँचथर शाखाबाट लोन लिएका उनीहरुले गुडवीलका शाखा प्रमुखलाई समेत प्रभावमा पारेर बढी ऋण लिएको हुन सक्ने आशंका गरिएको छ । सिसमसँग सम्पर्क गर्दा सबै कुरा भक्तबहादुरले गरेको र आफूलाई पनि भक्तबहादुरले फसाएको बताए । यता भक्तबहादुरसँग भने सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार