सरकारी चिया बगानको लिज फिर्ता होला

  आवाज सम्वाददाता

इलाम। बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको प्रकरणमा अर्ब डलरपति बिनोद चौधरीका सहोदर भाई सिजी होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी सिआइबीको छानविनमा परेसँगै इलाम र झापाका ७ वटा चिया बगानहरु कौडीको मोलमा लिजमा दिएको प्रसंग उठ्न थालेको छ । सरकारले ६५ प्रतिशत शेयरसहित त्रिवेणी ग्रुपलाई ३२ सय विघा जग्गामा रहेको ७ बगान र कारखाना ५० वर्षको लागि लिजमा दिएको छ ।
आर्थिक चलखेल, दबाव र प्रभावका कारण नेपालका ठूला सरकारी बगान र कारखानाहरु त्रिवेणी ग्रुपलाई कौडीको मोलमा लिजमा दिइएको बताइन्छ । बाँसबारी छाला तथा जुत्ता उद्योग जसरीनै सरकारी चिया बगान लिजमा दिनका लागि नेपाल चिया विकास निगम घाटामा गएको वहाना बनाइएको थियो । लापरवाही कर्मचारी नियुक्ति र कुशल व्यवस्थापनको अभावले निगम घाटामा गएपछि व्यवस्थापनमा सुधार गर्ने भन्दा पनि निजीकरण गर्न सरकार हौसिएको थियो । २०५७ साल असार १४ गते निजीकरण गर्ने निर्णय सहित बगानहरु सांघाईलाई लिजमा दिइएको थियो ।
सरकारले इलामका इलाम चिया बगान, कन्याम,  सोक्तिम र चिमकोट तथा झापाका बर्ने, टोक्ला र बाह्रदशी चिया बगान र त्यहाँका कारखानाहरु त्रिवेणी ग्रुपलाई लिजमा दिएको थियो । बगान लिजमा लिएको त्रिवेणी ग्रुपका सुवास सांघाईले निजीकरण गरिँदा (लिज लिँदा) गरेको संझौता अनुसार सरकारलाई बुझाउनु पर्ने रकम समेत नियमित रुपमा तिर्ने गरेको छैन । विभिन्न वहाना बनाएर सरकारलाई बुझाउनु पर्ने रकम नियमित नबुझाएको अर्थमन्त्रालय स्रोतले बताएको छ । कहिले संझौता अनुरुप सरकारले जग्गा उपलब्ध नगराएको त कहिले स्थानीय तहरुले बगान क्षति पुर्याएको, कहिले घाटा भएको बहाना बनाउँदै सरकारलाई रकम नबुझाउने गरेको हो । सरकारसँग संझौता गर्दा ५ हजार १ सय ९६ एकड जग्गा उपलब्ध गराउने भनिएको थियो । तर, लिजमा लिएको त्रिवेणी ग्रुपले भने ३२ सय ४३ एकड जग्गा मात्र उपलब्ध गराएको दाबी गरेको छ । तर सरकारले भने ३९ सय ८३ एकड उपलब्ध गराएको जनाएको छ ।
स्थानीय सरकारको माग वेवास्ता
विवेणी ग्रुपले चिया बगान लिज वापतको कर नतिरको, भूमिकर, सम्पत्ति कर नतिरेको, मजुदुरको समस्या सम्बोधन नगरेको र बगानको हेरचाह समेत राम्ररी नगरेको भन्दै इलाम र झापाका ६ वटा स्थानीय तहहरुले लिज संझौता तोड्न केन्द्र सरकारसँग माग गरे पनि सरकारले सुनुवाई गरेको छैन । त्रिवेणी ग्रुपका अध्यक्ष सुवास सांघाई शक्ति केन्द्रहरुलाई रिझाएर सरकारी चिया बगानमा लुट मच्चाइरहेको बताइन्छ । त्रिवेणी ग्रुपका सांघाईले स्थानीय सरकारलाई तिर्नुपर्ने भूमिकर लगायतका करहरु समेत नतिरेकाले स्थानीय तहहरुले सरकारलाई कर तिराउन पहल गरिदिन केन्द्रिय सरकारसँग लिखित रुपमा माग पनि गर्दै आएका छन् । तर, मन्त्रालय र सांघाईले चासो नदिएको सूर्योदय नगरपालिकाका प्रवक्ता ख्याम भूजेलले बताए ।
कौडीको मोलमा सरकारी जग्गा 
सांघाईले लिज वापत सरकारलाई वार्षिक ४० लाख रुपैयाँ बुझाउने गरेको छ । सरकारले ३२ सय ४३ एकड जग्गा उपलब्ध गराएको सांघाईको दाबी । यसरी हेर्दा एक एकड जग्गा १ सय २  रुपैयाँ ७८ पैसाका दरले मात्र जग्गा उपभोग गर्न दिइरहेको छ  । सरकारले भने ३९ सय ८३ एकड जग्गा उपलब्ध गराएको दाबी गरको छ । सरकारी दाबी अनुसार जग्गा उपभोग गरिरहेको हो भने सांघाईले प्रति एकड, प्रति महिना जग्गा उपभोग वापतको भाडा ८३ रुपैयाँ ६८ पैसा मात्र बुझाइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार