सप्तमाई गुरुकुललाई पाँच लाख सहयोग

  आवाज सम्वाददाता

इलाम। इलाम नगरपालिका वडा नं. ५ स्थित तोरीबारीमा सञ्चालित सप्तमाई गुरुकुल संस्कृत विद्याश्रमलाई काठमाण्डौं निवासी कृष्णकुमारी अधिकारीले पाँच लाख १०५ रुपैयाँ प्रदान गरेकी छन् ।

स्वर्गीय पति डा. पुण्यप्रसाद अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गर्नका लागि उक्त रकम प्रदान गरेकी हुन् । शनिबार आयोजित एक विशेष कार्यक्रममा कृष्णकुमारीले विद्याश्रमका अध्यक्ष गोविन्द पौडेललाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् । छोरा बुहारी सहितको सहयोगमा अक्षयकोष स्थापनाका लागि रकम प्रदान गरेको उनले बताइन् । ‘जागिरमा हुँदा मेरो श्रीमानको कार्यस्थल मध्येको एक तोरीबारी हो’ चेक हस्तान्तरण गर्दै कृष्णकुमारीले भनिन्,‘आज आएर यही क्षेत्रको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’

अक्षयकोषबाट प्राप्त ब्याजबाट गुरुकुलमा अध्ययन गर्ने विद्यार्थीहरुको आवास तथा भोजन व्यवस्थापनमा खर्च गरिने अध्यक्ष पौडेलले बताए । हाल गुरुकुलमा ७० विद्यार्थी आवासीय रुपमा अध्ययन गरिरहेका छन् भने एक सय विद्यार्थी अध्ययनरत छन् । विद्याश्रममा सरकारी दरबन्दी कम भएकाले निजी स्रोतबाट समेत शिक्षकको व्यवस्थापन गरिनुका साथै दाताहरुकै सहयोगबाट ७० जना विद्यार्थीहरुलाई आवासीय रुपमा अध्यापन गराइँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार