उपन्यासकार चेतनाथ आचार्यको रुईवा उपन्यासमा घोतलिंदा

नेपाली साहित्यमा उपन्यास विधाले वर्तमान समयमा बढी चर्चा पाउने गरेको पाइन्छ । यसको खास कारण उपन्यासकारमा पाइने विषय वस्तुको छनौट र यसको उठान र बैठानमा देखिने सहजता अनि समाजको अवस्था अनुसारको पात्रको छनौट र त्यसलाई दिइएको भूमिकाको कारण उपन्यास सफल भएका छन् । उपन्यासकारको रोजाइको विषय र त्यसमा केन्द्रित विषयवस्तु अनि संवादको भाषा शैली यी र यस्तै कुराले पाठकको तनमन तान्ने गर्दछ ।
आख्यानकारको भाषाको सबैभन्दा आकर्षक पक्ष सरल र छोटा वाक्यमा कथा वस्तुलाई प्रस्तुत गर्नु । यस प्रकारको सिप भएको लेख रचनाले पाठकलाई आफैँ सेरोफेरो र विषय वस्तुको बोध गराउँछ र कृतिको सुरुदेखि अन्तिम सम्म पुग्न मद्दत गराउँदछ । आफ्नो गाउँघर समुदाय र सामाजिक जनजीवनमा आधारित परिवेशले गर्दा त्यही समयका साना साना घटना र प्रपञ्चहरूलाई सूक्ष्म दृष्टिले पर्यवेक्षण गर्न र स्पर्श गर्दै त्यस भित्रका दुःख, दर्द पीडा र व्यवथाहरुलाई यथार्थर्को धरातलमा उतारेर समाजलाई सामाजिक चेतना प्रवाह गर्नु एउटा सफल उपन्यासको धर्म र मर्म हो भन्न सकिन्छ ।
नेपाली साहित्यको बजारमा अहिले थुप्रै किसिमका सन्देश विम्ब र प्रतिकका निसाना बनेर उपन्यासहरू आएको पाइन्छ । यस मध्ये एउटा नयाँ र नौलो पन लिएर नेपाली साहित्यको क्षेत्रमा आएको एउटा उपन्यास रुइवा पनि हो । इलामको नयाँबजार स्थित मलुमझुवा भन्ने गाउँमा जन्मिएर सुख र दुःखलाई नजिकबाट निहालेका लेखक, उपन्यासकार चेतनाथ आचार्यद्वारा लिखित यो उपन्यास पढ्दा अध्ययन गर्दा समय बितेको पत्तै नहुने रहेछ । हाम्रो नेपाली समाज परम्परा र विविध संस्कृति र संस्कारले नेपालीपन र नेपाललाई एकै ठाउँमा राख्न मद्दत पु¥याएको छ । सबै जातजाति भाषा भाषिका नेपालीहरूमा मनमा मन मिल्न, न्वारन, छेवर, विवाह र मृत्यु संस्कार र यसको सेरोफेरोमा रुमलिदा एउटा नेपाली प्रति अर्को नेपालीले आत्मासाथ गर्न मेलापात, हाटबजार तथा ऐँचो पैँचोको चलनमा रमाउन जान्नु नै नेपालीपन हो, यसैकारणले सबै नेपाली एकताको मालाका रूप रहेका छन् भन्ने मूल उद्देश्य रुई वाको सामाजिक पक्षले देखाएको छ ।
नेपालको धादिङ जिल्लाका तामाङ जातिको रहन सहन र संस्कार र संस्कृतिसँग सम्बन्धित यो उपन्यास तामाङ जातिको विवाह संस्कारमा बेहुला पक्षले ल्याएको कोसेली लिएपछि बेहुली पक्षबाट हाम्री छोरी तिमीलाई दियौँ । हामी बाबु र आमाको रगत माया आजबाट फरक भयो । तर हाड (रुई) चाहिँ हामी माइतीकै अधीनमा रहनेछ, भनेर जानकारी गराउने चलन रहेको छ ।
यही कारणले तामाङ जातीको कन्या विवाह पछि पनि उनको थर परिवर्तन नहुने रहस्य यो उपन्यासले खोलिदिएको छ । दुलाहाका घरमा गएपछि उनको मृत्यु भयो भने उनको दाहसंस्कारमा माइती पक्षको उपस्थित ती अनिवार्य हुने र कथम कदाचित उपस्थित भएनन् भने उनको (हाड) अस्तु निकालेर राख्ने र माइतीको सहमतिमा मात्र सेलाउने चलन तामाङ संस्कृतिमा रहेको हुँदा यसैलाई रुइवा भनिएको हो । यो उपन्यास नामाकरण पनि यसैबाट गरिएको छ ।
यस उपन्यासकी नायिका न्याउली वर्षौँदेखि चीनको जेलमा रहेकी छे । लागू पदार्थ ओसार पसार गर्ने दलालहरूको भूल भुल्यामा लागेर ऊ चीनको जेलमा परि जीवनको युवा अवस्था जेलमा बिताउँदा उसका इच्छा, चाहना आकाङ्क्षा त्यसै ओइलिएका छन् । यो नै यो उपन्यासको मुख्य पक्ष पनि हो । एउटा निर्दोष महिला कसरी लागूपदार्थ ओसारपसार गर्ने गिरोहको पन्जामा परि र उसको यो हविगत भयो । अव ऊ जेलबाट छुट्नु अघि नै उसको मृत्यु भयो भने (रुइवा) लिन माइती आउँछन् कि नेपाल सरकार आउँछ, भन्ने प्रश्न सँग यो उपन्यासको खरो प्रश्न छ । हाम्रो न्याय प्रणाली समाजको संरचना र विवेकका बारेमा न्याउलीलाई उभ्याएर उपन्यासकार चेतनाथ आचार्यले पेचिलो अवस्थाको तीती सत्यलाई उजागर गरेका छन् ।
सरकारले उठाउनु पर्ने कुरा उपन्यासकारले शक्तिशाली र तथ्यमा रहेर उठाएका छन् । हुन त अर्काको जीवनमा पसेर उपन्यास लेख्नु गा¥हो काम हो तर यस उपन्यासमा त्यसलाई सहजता तर्फ उन्मुख गर्दै, आम नेपाली त्यसमा पनि रोजी रोटीको समस्याले आज न्याउली जस्ता कति नेपाली महिलाहरूले यस्ता समस्याको भागीदार बन्नु परेको छ भन्दै निष्पक्ष न्याय प्रणालीमा सुधार हुन यो यो उपन्यास मार्फत सम्बन्धित सबैको ध्यान आकर्षण गरेका छन् । समग्रमा भन्दा उपन्यास सरल, सहज भईकन पनि सामाजिक छ । लेखकको यो काव्यिक यात्राको लागि शुभकामना धन्यवाद ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार