कप्तान किरण बने ‘म्यान अफ द म्याच’

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ मौरिसससँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यान अफ द म्याच बनेका छन् । नेपालले मौरिसससँगाको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को जित निकाल्दा किरणको योगदान महत्त्वपूर्ण थियो ।

दुवै खेलमा क्लिन सिट गरेका किरणले दोस्रो खेलमा पेनाल्टी बचाएका थिए । किरण नेपालबाट सर्वाधिक ८२ औं खेल खेलेका छन् । १२ औं मिनेटमा गोलरक्षक तथा कप्तान किरण चेम्जोङले पेनाल्टी बचाउँदै नेपालको बराबरी संकट टारेका थिए ।

पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरेका थिए ।

किरणले म्यान अफ द म्याच वापत केटिएम सिटीबाट ५० हजार र हाम्रो फुटबलबाट २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । किरण यस सिरिजको लागिनै माल्दिभ्सबाट नेपाल आएका थिए । माल्दिभ्समा व्यवासायिक फुटबल खेलिरहेका किरण माघ १२ मा नेपाल आइपुगेका थिए । मिडफिल्डर सुजल श्रेष्ठको गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा समेटिएको मौरिससलाई १–० ले पराजित गरेको थियो ।

यो जितसँगै नेपालले मौरिसससँगको दुई खेल क्लिनस्वीप गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले १–० कै जित निकालेको थियो । उक्त खेलमा विमल घर्तीमगरले गोल गरेका थिए । विमलनै खेलको प्लेयर अफ द म्याच चुनिएका थिए ।

१० औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाए । नविन गुरुङको कर्नरलाई गोलरक्षक लोइक मिचेलले पञ्च गरेर बाहिर फालेको बललाई आशिष लामाले गरेको प्रहारमा पुजन उपरकोटीको ब्याकहिल पासलाई सुजल श्रेष्ठले क्लोज रेन्जबाट फाइनल टच दिएका थिए । उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार