स्थानीय तहको चुनाब तोक्न अखिलको दबाब कार्यक्रम

स्थानीय तहको चुनाबको मिति तोक्न दबाब लिन प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न कार्यक्रम ल्याएको छ । विशेषत एमालेले विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)मार्फत एमालले दबाबमूलक कार्यक्रम अघि बढाएको हो । सत्तारुढ गठबन्धनले आउँदो जेठ महिनाभित्रमा स्थानीय तहको चुनाब गर्ने सहमति गरेका छन् । तर, हालसम्म मिति तय गरेका छैनन् । चुनाबको मिति तत्काल तोक्नु पर्ने मागसहित एमाले आन्दोलित बनेको हो ।
आज मात्रै अखिलले दबाबमूलक कार्यक्रम स्वरुप विज्ञप्ति निकाल्ने, व्यानर टास्ने र ध्यानाकर्षण बुझाउने काम गरेको छ । स्थानीय तहको चुनाब तत्काल तोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण बुझाएको छ । अखिलको केन्द्रीय कमिटीको सर्कुलरअनुसार सोही काम गरिएको हो ।
यस्तै,आजै अखिलले एक विज्ञप्ति सार्वजनिक गर्दै ‘स्थानीय तहको चुनाब तत्काल तोक्न’ दबाब बढाएको छ । अध्यक्ष सचिनजंग रायमाझीको हस्ताक्षरित विज्ञप्तिमा संविधान र लोकतन्त्रमा निम्ति समयमै चुनाब तोक्नु पर्ने उल्लेख छ । सरकारले चुनाब मिति नतोकेजसम्म विभिन्न कार्यक्रम अघि बढाइरहने अखिलका प्रचार विभाग प्रमुख विशाल कार्कीले जनाए । “गठबन्धनकै दल पनि कानुनविपरीत चुनाब सार्न खोजिरहेका छन् ।”कार्कीले भने,“हामी विभिन्न माध्यमबाट दबाब दिइरहने छौ ।”
कार्कीका अनुसार सरकारलाई दबाब बढाउन सामाजिक सञ्जालमा स्टाटस लेख्ने देखि सार्वजनिक ठाउँमा व्यानर टास्ने काम भइरहेको छ । सोही माग पूरा गराउने अखिलले आजै महेन्द्र रत्न बहुमुखी क्याम्पसमा व्यानर टास्ने काम गरेको छ । अनेरास्ववियु महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामको आयोजनामा राखिएको व्यानरमा ‘स्थानीय तहको चुनाब तत्काल गर’,‘लोकतन्त्र र संविधानको रक्षा गर’लगायतका नारा लेखिएको छ ।
पेट्रोलियम पदार्थ र खाद्यवस्तुको मूल्य घटाउन ‘जनता आवाज’ कार्यक्रम
पछिल्लो समय बढेको पेट्रोलियम पदार्थ र खाद्यवस्तुको मूल्य घटाउन सरकारलाई दबाब दिन अनेरास्ववियुले ‘जनता आवाज’ कार्यक्रम ल्याएको छ । सार्वजनिक क्षेत्रमा रहेका जनताको धारणा लिने र सामाजिक सञ्जालमा राख्ने कार्यक्रम ल्याइएको हो । दैनिकरूपमा सेवाग्राहीलाई मूल्य बढ्दा परेको असरका बारेमा अखिलले जानकारी लिन थालेको जिल्ला कमिटी अध्यक्ष सचिनजंग रायमाझीले बताए ।

“सरकारले जनताको ढाड सेक्ने गरी मूल्य बढाएको छ । हामीले भन्दा पनि सेवाग्राही आफैले यो कुरा राख्दै आउनुभएको छ ।” अध्यक्ष रायमाझीले भने,“दैनिक गुनासो सुन्ने काम गरेका छैन । सबै जना असन्तुष्टी राख्दै आउनुभएको छ ।” यो कार्यक्रम अखिलले स्थानीय तहमा समेत लैजाने तयारी गरेको छ । रायमाझीका अनुसार सरकारलाई जनताको आवाज सुनाउनका लागि नयाँ कार्यक्रम ल्याइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार