स्थानीय तहले एकैवर्षमा बनाए एघार सय किलोमिटर सडक

  आवाज स‌‌म्वाददाता

भौतिक पूर्वाधार विकासमा सवैभन्दा बढी सडक आयोजनामा लगानी गर्ने इलामका दश पालिकाले एक वर्षमा एक हजार एक सय १० किलोमिटर सडक बनाएका छन् । कच्चि सडकको नयाँ ट्रयाक खन्ने, भइरहेका सडकको स्तरोन्नति तथा गर्ने, सडक ग्राभेल गर्ने र पक्की सडक निर्माणमा स्थानीय सरकारले लगानी गरेका छन् । जिल्ला समिक्षा बैठकमा पालिकाहरुले प्रस्तुत गरेको प्रगति प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा एक हजार एक सय १० किलोमिटर सडक निर्माण भएको छ ।
नयाँ ट्रयाक सहित गरे एक वर्षमा एक सय ४६ किलोमिटर सडक निर्माण भएको छ । त्यस्तै सात सय ३१ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको काम भएको छ  । दुई सय ३० किलोमिटर सडकमा ग्राभेल बिच्छ्याउने र ढुंगाको सोलिङ्ग लगाउने काम भएको छ । त्यस्तै २.६६ किलोमिटर पक्कि सडक निर्माण भएको छ ।
जिल्लामा सवैभन्दा धेरै सडक बनाउने पालिका मध्येमा फाकफोकथुम गाउँपालिका पर्छ । फाकफोकथुमले एक वर्षमा दुई सय ८० किलोमिटर सडक बनाएको प्रतिवेदनमा उल्लेख छ । फाकफोकथुमले ३० किलोमिटर कच्ची सडक खनेको छ भने १६० किलोमिटर सडक मर्मत गरेको छ । ९० किलोमिटर सडक त एकै वर्षमा ग्राभेल गरेको प्रतिवेदनमा उल्लेख छ । वर्षमा यतिधेरै सडक बनाउने गाउँपालिकामा भने सडकको अवस्था भने खासै सुधार हुँन सकेको छैन । ‘पहिले गाडी गुड्ने ठाउँमा सडक मर्मत भएपछि झन् गाडी गुड्दैन’, फाकफोकथुुमका एक स्थानीयले भने,‘पहिले सोलिङ्ग भएको ठाउँमा सडक विस्तारको नाममा भित्ता कटिङ्ग गरिएको छ, भित्ता कटिङ्ग भएपछि हिलोका कारण गाडी गुड्दैनन ।’
फाकफोकथुमपछि सबैभन्दा बढी सडक बनाउने पालिकामा पर्छ माई नगरपालिका । माई नगरपालिकाले वर्षदिनमा दुई सय २१ किलोमिटर सडक बनाएको छ । २० किलोमिटर कच्ची सडक बनाएको छ भने एकसय ५० किलोमिटर सडक मर्मत गरेको छ । त्यस्तै ५१ किलोमिटर सडक मर्मत गरेको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत विष्णुकुमार थेगुवाले बताए ।
माइजोगमाई गाउँपालिकाले अघिल्लो एक आर्थिक वर्षमा एकसय ८० किलोमिटर सडक बनाएको प्रतिवेदनमा उल्लेख छ । माईजोगमाईले नयाँ सडक निर्माणदेखि मर्मत र सडकमा ग्राभेल लगाउने काम गरेर एक सय ८० किलोमिटर सडक बनाएको छ । माइजोगमाईले २० किलोमिटर कच्ची सडक बनाएको छ । त्यस्तै एकसय ५० किलोमिटर सडकको स्तरोन्नति र मर्मत गरेको छ भने १० किलोमिटर सडकमा ग्राभेल बिच्छ्याउने र सोलिङ्ग लगाउने काम गरेको उल्लेख छ ।
त्यस्तै देउमाई नगरपालिकाले वर्षदिनमा एकसय दुई किलोमिटर सडक बनाएको छ । देउमाई नगरपालिकाले १३ किलोमिटर कच्ची सडक खनेको छ, ८० किलोमिटर सडकको मर्मत सम्भार गरेको छ भने नौ किलोमिटर सडकको मर्मतसम्भार गरेको पालिकाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । इलामका ६ पालिकाले बर्षदिनमा सय किलोमिटर भन्दा कम सडक बनाएका छन् । चुलाचुली गाउँपालिकाले एक वर्षमा १८ किलो मिटर सडक बनाएको छ । गाउँपालिकाले तीन किलोमिटर कच्ची सडक, १३ किलोमिटर ग्राभेल र दुई किलो मिटर सडक स्तरोन्नति गरेको छ ।
इलामको सबैभन्दा ठूलो भूगोल रहेको सूर्योदय नगरपालिकाले भने एक वर्षमा ४६ किलोमिटर सडक बनाएको छ । सूर्योदय नगरपालिकाले २.६६ किलोमिटर कालोपत्रे सडक बनाएको छ । ११.५ किलोमिटर सडक ग्राभेल गरेको छ भने २७ किलोमिटर सडक स्तरोन्नती गरेको छ । नगरपालिकाले एक वर्षमा ४.६ किलोमिटर कच्चि सडक बनाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले बताए ।
रोङ गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा ५५ किलोमिटर सडक बनायो । त्यसमा कच्चि सडक १३ किलोमिटर, स्तरोन्नती तथा मर्मत ३४ किलोमिटर र आठ किलोमिटर सडक ग्राभेल गरेको छ । माङसेबुङ गाउँपालिकाले ९१ किलोमिटर सडक बनाएको छ । नौ किलोमिटर कच्चि सडक, ४८ किलोमिटर सडकको स्तरोन्नती र मर्मत गरिएको छ भने चार किलोमिटर ग्राभेल गरिएको छ । त्यस्तै सन्दकपुर गाउँपालिकाले ७७ किलोमिटर सडक बनाएको छ । गाउँपालिकाले २६ किलोमिटर कच्चि सडक बनाएको छ । ३० किलोमिटर मर्मत गरेको छ भने २१ किलोमिटर ग्राभेल गरेको छ ।
गाडी मर्मत गर्न दिनदिनै ग्यारेज
सरकारले बर्षेनी करोडौ लगानी गरेपनि सडको स्तर भने खासै उक्सिएको छैन । ग्रामीण क्षेत्रबाट गुड्ने गाडीहरु मर्मतको लागि दिनै ग्यारेज पुग्छन् । ‘गाउँबाट आएका गाडीहरु मर्मत नगरी फर्किने अवस्था नै हुँदैन’, पूवेली जीप तथा यातायात सेवा प्रालिका कार्यकारी सचिव सुमन काफ्ले भने,‘सडकको अवस्था खराब भएरै दिनदिनै गाडीहरु मर्मतको लागि ग्यारेज लैजानु पर्छ ।’ इलामका ग्रामीण क्षेत्रबाट करिब तीन हजार जीप सदरमुकाम सहित जिल्लाका मुख्य बजार र झापासम्मको यात्रामा निस्किन्छन् । कच्ची सडक गुड्ने सवारी दिनदिनै मर्मत गर्नुपर्ने अवस्था छ । ग्रामीण क्षेत्रबाट गुड्ने गाडीहरुले मर्मतको लागि न्यूनतम तीन हजार रुपैयाँ देखि २० हजार रुपैयाँ सम्म खर्च गर्ने गरेको पूर्वेली जीप यातायात सेवा प्रालिका जिल्ला काउन्टर इञ्चार्ज सोनम योल्मो बताउँछन् । ‘सडक हिलो भएको बेला हिउँदको भन्दा धेरै मर्मत खर्च लाग्छ, सामान्य मर्मत गर्नुपर्दा तीन हजार खर्च लाग्छ’, योल्मोले भने,‘हिलोमा ब्रेकसु हप्ता दिन टिक्दैन, अप्ठ्यारो बाटोमा गाडीको पत्ति भाच्चिरहन्छ, गाडीलाई धेरै बल प¥यो भने गेयर बक्सनै जान्छ, यसरी ठूलो टुटफुट आयो भने मर्मतमा २० हजारसम्म खर्च लाग्छ ।’
पालिकाको आफ्नै मेसिन
इलामका कतिपय गाउँपालिकाले सडक मर्मत र अन्य भौतिक विकासको लागि ‘हेभी इक्युपमेन्ट’ समेत खरिद गरेका छन् । माइजोगमाई गाउँपालिकामा दुई वटा हेभि इक्युपमेन्ट छन् । माइजोगमाईमा एउटा ब्याक हुक र जेसिवि मेसिन छ । त्यस्तै इलाम नगरपालिका, फाकफोकथुम गाउँपालिका र रोेङ गाउँपालिकाले समेत सडक मर्मत गर्ने प्रयोजनको लागि जेसिबि मेसिन खरिद गरेका छन् । आफ्नै मेसिन भएका पालिकाहरुमा समेत सडकको अवस्थामा भने सुधार भएको देखिदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार