सवारी साधनकाे दुरुपयाेग राेक्न सूर्याेदयकाे यस्ताे उपाय

  आवाज संवाददाता

इलाम । सरकारी गाडीको दुरुपयोग भएको गुनासो आइरहेका बेला सूर्योदय नगरपालिकाले भने आफ्नो कार्यालयका सवारीहरुमाथि निगरानी शुरु गरेको छ । नगरपालिकाले यहाँ रहेका सवारीहरुलाई ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गरि निगरानी शुरु गरेको हो ।

नगरपालिकामा रहेका साना ठूला गरि करिब ३५ सवारी साधनलाई जिपिएस प्रणालीमा एकिकृत गरिएको छ । यो प्रणालीमा राखिएका सवारीहरु मध्ये कुन सवारी कहाँ कुद्दैछ, त्यो सवारीको गति कति छ, कुन सवारीको पार्टपूर्जा बिग्रीएको छ लगायतका कुराहरु हेर्न सकिन्छ । ‘नगरका सवारी साधनको अवस्था अब मोबाइलमा पनि हेर्न सकिन्छ ।’ नगरपालिका प्रमुख रणबहादुर राईले भने ‘सरकारी सवारीको दुरुपयोग हुन्छ भन्ने गुनासो आएकाले नयाँ प्रविधिको प्रयोग गर्दै सवारी साधनहरुको दुरुपयोग नहोस भनेर यो सिस्टममा लगेका हौं ।’

गाडीमा एनसेलको सिमकार्डसहित जिपिएस ट्र्याकर राखिएको सूचना प्रविधि अधिकृत उज्वल सुवेदीले बताए । त्यसमा इन्टरनेट जडान गरिएपछि गाडीको रेकर्ड इन्टरनेटकै माध्यमबाट नगरको कम्प्युटर सिस्टममा आउने व्यवस्था मिलाइएको सुवेदीले जानकारी दिए । ‘दिनभरमा कुन गाडी कति किलोमिटर गुड्यो, हिजोअस्ति कुन–कुन लोकेसनमा गाडी पुग्यो भन्ने रेकर्डसमेत हेर्न सकिन्छ ।’ उनले भने ‘महिनाभरमा गाडी कति किलोमिटर गुड्यो भन्ने रेकर्ड यहींबाट निकाल्न र कति लिटर इन्धनले कति किलोमिटर गुडेको छ भनेर हेर्न पनि सकिन्छ ।’

जिपिएस प्रणालीमा रहेका सवारीको समयमै गाडी सर्भिसिङ नगरे अल्राम बजेर सूचना दिने गरेको छ । जिपिएसको काम सामान्य प्रविधिमै भएपनि महत्वपूर्ण उपलब्धि रहेको सुवेदी बताउँछन् । जिपिएस जडान गर्न मूल्य पनि धेरै महँगो नभएको बताइएको छ । एउटा गाडीमा यो प्रणाली जडान गर्न १२ हजार रुपैयाँहाराहारी खर्च भएको सुवेदीले जनाए । ‘एकपटक उपकरण जडान गरेपछि सधैंलाई हुन्छ तर यो सफ्टवेयर हरेक वर्ष नवीकरण चाहिँ गर्नुपर्छ,’ उनले भने, ‘नवीकरणको खर्च धेरै लाग्दैन ।’

दुरुपयोग न्युनिकरण गर्न त जिपिएसले सहयोग गर्छनै, जिपिएसले कुनै सवारी बीच बाटामै अप्ठ्यारोमा परेको वा दुर्घटना परेको समेत चाँडो थाहा पाउन सकिने र समयमै उद्धार गर्न सकिने हुँदा यो निकै उपलब्धी मूलक रुपमा रहेको सुवेदीको भनाइ छ ।
नगरका प्रमुख, उपप्रमुखदेखि वडाध्यक्ष समेतले प्रयोग गर्ने सवारी साधनमा जिपिएस जडान गरिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार