घरेलु मैदानमा भारतसँग नेपाल २ गाेलले पराजित

  आवाज संवाददाता

काठमाडौं । छिमेकी चिरपरिचित प्रतिद्धन्द्धी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा घरेलु टोली नेपालले हार बेहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । बल पोसेसनमा पकड राखेपनि नेपालले फिनिसिङमा चुक्दा झिनो हार बेहोर्न पुग्यो । पहिलो मैत्रीपुर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुदै आएको बलमा मनिष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि नियन्त्रणमा लिन नसकेको बललाई डिफेन्डरले क्लियर गरिदिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

२२औं मिनेटमा पुजन उपकोटीको प्रहार आकासियो । २३औं मिनेटमा तेज तामाङले गोलरक्षक अमरिन्दर सिंह अघि बढेको मौकामा गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा नेपालले अग्रता बढाउन सकेन । २५औं मिनेटमा क्रसबाट आएको बललाई अनिरुद्ध थापाले नभेट्दै गोलरक्षक तथा कप्तान किरण चेम्जोङले क्लियर गर्दै नेपालको संकट टारे ।

२८औं मिनेटमा आयुष घलानको क्रसलाई पेनाल्टी बक्समा आशिष लामाले हेडर प्रयास नभेट्दा नेपाल अग्रता लिनबाट चुक्यो । ४१औं मिनेटमा मनविर सिंहको क्रसमा विपिन सिंह थोउनाओजमको हेडरलाई अनन्त तामाङ हेडरमार्फ क्लियर गरिदिए । दोस्रो हाफको सुरुमै विशाल राईको फ्रिकिकलाई गोलरक्षक अमरिन्दर सिंहले सहजै नियन्त्रणमा लिए ।

५३औं मिनेटमा चिङलेनसाना सिंह कोन्सामको क्रस पासलाई किरणले डाइभ दिदै बचाउँदै नेपालको खतरा टारे । सब्सिच्युट फारुकहाजी कासम चौधरीले ६२औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । उनी दोस्रो हाफको शुरुमै मदान प्रवेश गरेका थिए । ६६औं मिनेटमा तेज तामाङको प्रहार फ्रेम बाहिर परेपनि अन्जन विष्टले भेट्दै गरेको प्रहारलाई भारतीय गोलरक्षकले बचाउदा नेपाल बराबरीबाट चुक्यो ।

६८औं मिनेटमा विशाल राई र नवयुग श्रेष्ठको समन्वयमा बनेको मुभमा नजयुग चुक्दा नेपालले खेललाई बराबरी गर्न सकेन । उनले पेनाल्टी बक्समा सुवर्ण अवसर चुकाएका थिए । ७४औं मिनेटमा मनिष डाँगीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ८०औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा सुनिल क्षेत्रीले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउदै गोलरक्षक किरण सहजै बिट गर्दे गोल गर्न सफल भएका थिए ।

८७औं मिनेटमा तेज तामाङले गोल गर्दै खेललाइ २–१ को अवस्थामा ल्याए । उनले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपुर्ण खेल खेलेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार