इलाम । करोडौं रुपियाँ खर्चंदा पनि सडक भासिने क्रम नरोकिएपछि मेची राजमार्ग अन्र्तगत पर्ने माइखोला राजदुवाली माथिको सडक खण्डमा यात्रु र सवारीका लागि जोखिम बढ्दो छ । सडक धस्सिएको वर्षौैं बित्दा पनि सरकारले यस स्थानको विकल्पमा सडक निर्माणको कामलाई अझै प्राथमिकतामा राखेको छैन । आगामी आर्थिक वर्षमा पनि यो सडक खण्ड ओझेलमै परेको छ ।
तर, यस खण्डको विकल्प चाँडो खोज्नुपर्ने अवस्था भने त्यहाँ पुगेर हेर्दै मात्र थाह हुन्छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले गतवर्षनै पूर्वाञ्चल सडक डिभिजन कार्यालयलाई भन्ज्याङ देखि राजदुवालीको क्षेत्रमा सडक भासिएपछि जोखिम बढेको ठहर गर्दै विकल्प खोज्न सुझाव दिएको थियो । तर, उक्त सडक खण्डको अध्ययन कहिले हुन्छ र बजेट कहिले छुटिन्छ अनि नयाँ सडक बन्छ भन्ने विषय यो वर्षपनि टरे जस्तै भएको छ । सरकारले यो वर्षको बजेटमा पनि उक्त सडक खण्डको विषयलाई समावेश नगर्दा जोखिम युक्त सडकमै यात्रुहरुले जोखिम मोल्नु पर्ने भएको छ फेरिपनि ।
धस्सिएको वर्षौं बित्दा पनि मर्मत गर्न नसकिएपछि जोखिम बढेको ठहर गर्दै समितिले वैकल्पिक मार्ग तयार गर्न सुझाव दिइएको थियो । करिब छ वर्षअघि भौगर्भिक अध्ययन टोलीले राजदुवाली पुलभन्दा माथिको भू–भागमा जग्गा भित्रभित्रै बग्दै गरेको अध्ययनमा देखाएको थियो । काठमाण्डौं स्थित इटीको नेपाल प्राइभेट लिमिटेडले गरेको अध्ययन अनुसार सतहभन्दा १५ मिटर मुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको थियो । माइखोलादेखि माथि करीब तीन सय मिटरको भूभागमा भित्रभित्रै जमिन दब्ने र बग्ने गरेको जनाइएको थियो । अध्ययनमा त्यहाँको सतहभन्दा करिब २० देखि २५ मिटर तल सम्म रड राखेर एंकरिङ्ग गर्ने र कंकीट वाल निर्माण गर्ने सुझाव दिइएको थियो । सोही अनुसार सडक डिभिजन कार्यालयले छ करोड ७७ लाख रुपियाँ खर्चेर सडकको एंकरिङ्ग गर्ने र वाल लगाउने काम गरेको थियो ।
यो सडक भएर पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ, तेह्थुम सम्म सवारीहरु आउजाउ गर्ने गरेका छन् ।
सडक डिभिजन कार्यालय इलामले पनि यो सडकको विकल्प खोज्न गत पुस महिना तिरै पत्राचार गरेको थियो । तर, विभागले उक्त विषयमा केही नभनेको र यो वर्षको बजेटमा पनि नपरेको डिभिजन कार्यालयका इन्जिनियर विरेन्द्रकुमार यादवले बताए । ‘उक्त सडक खण्ड जीर्ण छ, त्यसको भविष्य कति भन्ने अनुमान त गर्न सकिन्न, जोखिम भने कायम छ ।’ यादवले भने ‘हामीले तिल्केनीबाट सोझै माइखोला भरेर सिल्पुर नजिक निस्कने वैकल्पिक मार्ग हुनसक्छ भन्ने एक किसिमको ठहर चाँहि गरेका छौं । माथिबाट अध्ययन गर्न टोली आएपछिमात्र कताबाट वैकल्पिक मार्ग बनाउने भन्ने टुङ्गो लाग्छ ।’
विपद्का हिसाबले पनि राजदुवाली माथिको सडकका विषयमा आफूले चासो राखिरहेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का बताउँछन् । ‘त्यस क्षेत्रमा जोखिम छ, जोखिमका विषयमा मसिनो ढंगले प्राविधिक र अध्ययन कर्ता सँग बुझ्दा १० मिटर मुनि सम्मको जमिन बग्दैछ । खोलामा गएर बस्यो भने ताल बन्न सक्छ, त्यसले पनि झापा सम्म कस्तो असर गर्न सक्छ भन्ने पनि विषय गम्भीर छ ।’ प्रजिअ खड्काले भने ‘जोखिम भइहाले त्यसलाई कसरी सहज बनाउने भन्नेमा तयारी अवस्थामा बस्नुपर्छ भन्ने कुरामा हामी सचेत भएका छौं ।’
राजमागर्गको उक्त खण्डको विकल्पको रुपमा इलाम नगरपालिका–१० स्थित सिलपुर देखि माइखोला जोड्ने गरि निर्माण गरिएको कच्ची सडक उत्तम हुने इलाम नगरप्रमुख बस्नेत बताउँछन् । ‘सिलपुर देखि जोगमाइ खोला ट्याक खुलेको छ, जोगमाइमा पुल छ, अब माइखोलामा पुल बनाउन सक्कियो भने तिल्नेकी सम्म आउन सजिलो र छोटो पर्छ,’ बस्नेतले भने ‘तत्काल थोरै रकममा र छिटो यातायात सञ्चालन गराउने उत्तम विकल्प त्यो हुन सक्छ ।’