परपुरुषसँग लागेकी श्रीमतीकै योजनामा माओवादी नेता पाण्डेको हत्या

  आवाज संवाददाता

काठमाडौं । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार आफ्नै श्रीमती रहेको पुष्टि भएको छ । नेता पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको प्रहरीले पुष्टि गरेको छ । कपिलवस्तु नगरपालिका ६ गोबरी सडकखण्डमा गत जेठ ५ गते गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो ।

प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार हत्यामा उनकै श्रीमती महिमा पाण्डेयको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । महिमाले कपिलवस्तु नगरपालिका १ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्याको योजना बनाएकी हुन् । ओमप्रकाशसँग महिमाको अनैतिक सम्बन्ध रहेको प्रहरीको भनाई छ ।

कपिलवस्तुका प्रहरी प्रवक्ता धर्म भण्डारीले श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको प्रहरीले जनाएको छ । उनले भने, ‘महिमा र ओमप्रकाशले हत्यामा कपिलवस्तु नगरपालिका( २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ।’

दीपकको हत्या गर्ने व्यक्तिहरूलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको हो । हत्याका लागि सुपारी लिने, हतियार खरिद, बिक्री तथा ओसारपोसार गर्ने र अभियुक्तलाई संरक्षण गर्ने ७ जनाको पहिचान भएको प्रहरीले बताएको छ ।

उनीहरू कपिलवस्तु नगरपालिका १ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु नगरपालिका २ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका-४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा गाउँपालिका-४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका ५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका-१ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका-२ बरगदवा बस्ने प्रवीण गुप्ता रहेका छन् । नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली खटिएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार