मेरुदण्ड भाचिएका दिपक मुखियालाई कोरियाबाट आर्थिक सहयोग

दक्षिण कोरिया / रुखबाट लढेर मेरुदण्ड भाचिएका इलामका एकजना पीडितलाई इलामेली समाज दक्षिण कोरियाले आर्थिक सहयोग गरेको छ ।

इलाम नगरपालिका वडा नम्बर – ३ पुवामझुवाका २८ बर्षीय दिपक मुखिया सुनुवारको घाँस काट्ने क्रममा रुखबाट लडेर घाइते भएपछि थप उपचारका लागि आर्थिक सहयोग गरिएको हो । रुखबाट लडेर घाइते भएका सुनुवारको मेरुदण्ड र दुई वटै खुट्टा भाचिनुका साथै टाउको तथा शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको थियाे । गत चैत्र २२ गते विहान रुखबाट लडेका सुनुवारको झापा विर्तामोडस्थित वि एण्ड सी अस्पतालमा उपचार भइरहेकाे छ ।

उपचारको क्रममा अत्यन्तै धेरै खर्च भएको र पारिवारिक आर्थिक स्थिति कमजोर भएकाले थप उपचारका लागि समस्या देखिएपछि आर्थिक सहयोग गरिएको इलामेली समाज दक्षिण कोरियाका सचिव तथा आर्थिक सहयोग अभियानका संयोजक उपेन्द्र निरौलाले जानकारी गराए ।

निरौलाका अनुसार इलामेली समाजका कार्यसमितिका तर्फबाट १ लाख कोरियन वोन सहित दक्षिण कोरियामा रहेका ६१ जना सहयोगी नेपालीहरु मार्फत संकलित जम्मा रकम नेपाली १ लाख १० हजार ७ सय ४१ रुपैयाँ आर्थिक सहयोग बिरामीका आफन्तलाई हस्तान्तरण गरिएको हो ।

स्मरण रहोस् रोजगारी,अध्ययन,व्यवसाय तथा विभिन्न सिलसिलामा कोरियामा रहेका इलामेलीहरुको एकमात्र साझा संस्था इलामेली समाज दक्षिण कोरियाले यस अघि पनि नेपालका विभिन्न ठाउँमा भएका दैवी प्रकोप लगायत विभिन्न कारणले पीडित तथा कोरियामा रहेका थुप्रै पिडितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार