गाउन पनि मिल्ने भएकाले अनि थोरै शब्दमा धेरै अभिव्यक्ति दिन सकिने भएकाले गजलका पारखीहरू नगन्य छन् । जीवनलाई कला अनि साहित्यसँग जोड्न यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गजल लेख्न र पढ्न मन पराउनेहरूका लागि साङ्ग्रिला बुक्सले उपहार प्रकाशित गरेको छ, त्यो उपहारको नाम ‘महफिल’ हो ।
महफिल शब्दले गजलको उत्सव मनाउनु भन्ने बुझाउँछ । प्रस्तुत पुस्तकाकार कृतिमा दश जना गजलकारका २०० गजलले आफ्नो आफ्नो तरिकामा लयात्मक माहौल जमाउने प्रयास गरेका छन् । गजलको क्षेत्रमा चर्चा कमाइरहेकी अमला अधिकारी आख्यान लेख्न पनि उत्तिकै पोख्त छिन् । उनी सिन्धुलीकी गजलकार हुन् । अघिल्लो वर्ष प्रकाशित उनको उपन्यास ‘आलय’ले जनयुद्धको मार्मिक कथालाई समेटेको छ । उनका गजलका हरेक शेर मार्मिक छन् :
युद्ध झेलेर आएको छ, प्रकोप भोगेर आएको छ
एकछिन सुस्ताओस् यो समय थाकेर आएको छ ।
आशा साँकी बलायर गजलमा सबै कुरा बोल्न मन पराउँछिन् । उनी डडेल्धुराकी गजलकार हुन् । उनले २०६५ सालमा पाँचौँ राष्ट्रिय खेलकुद (क्रिकेट) मा स्वर्णपदक जितेकी थिइन् । उनका गजलले सामाजिक विकृतिविरुद्ध धावा बोलेका छन् । जीवन र जगत्लाई जोड्ने प्रयास गरेका छन् :
जिन्दगी मिल्दै मिलेन उपचारबाट
म मान्छेजस्तै बनेको हुँ प्रहारबाट ।
ईश्वर दाहालले गजलमार्फत जीवनको सूक्ष्म अर्थलाई खोतल्ने जमर्को गरेका छन् । उनी धनकुटाका गजलकार हून् । अहिलेका चर्चित गजलकारको नाममा उनलाई छुटाउन मिल्दैन । समाजको अँध्यारोलाई हटाउन उनका गजलहरूले
टर्च लाइटको काम गरेका छन् :
क्या जिन्दगी दिइस् भगवान् क्या काम गरेर जानेछ
हरेकले आफ्नै मृत्युको आफै इन्तजाम गरेर जानेछ ।
कृष्ण विरही अछामका गजलकार हुन् । महफिल यिनको दोस्रो संयुक्त गजल कृति हो । उनले बुझेको जीवनको दहमा शेरहरूले डुब्ने मौका पाएका छन् । प्रेम र जीवन लेख्नमा उनी खप्पीस छन् :
त्यो जिब्रोमा राख मलाई चक्लेट हुन मन छ
म एक अक्षर तिम्रै हातले केरमेट हुन मन छ ।
महेन्द्रचन्द महासागर दैलेखमा जन्मिएका हुन् । उनको लेखनमा मानवीय संवेदना छचल्किएको छ । उनको एउटा गजलकृति र अर्को संयुक्त गजलकृति प्रकाशित भइसकेको छ ।
आज रुन के भयो र अक्सर रोएको हो
मभन्दा पनि बढी त पत्थर रोएको हो ।
रसिक राज सल्यानमा जन्मिएका गजलकार हुन् । उनले विमल स्मृति पुस्तकालयद्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगिता २०७६ मा उनले प्रथम पुरस्कार प्राप्त गरेका थिए । उनको ‘अनुहारको भीड’ नामक संयुक्त कविता सङ्ग्रह प्रकाशित छ । समसामयिक विषयवस्तुलाई उनले गजल लेखनको केन्द्रविन्दु बनाएका छन् :
आफ्नाको साथ रहे पो घर, घर हुन्छ
नत्र त केवल इँटा र पत्थर हुन्छ ।
विपिन सलामी डोटीमा जन्मिएका हुन् । उनको संयुक्त गजलकृति ‘कैफियत’ र आफ्नै गजलकृति ‘मैले देखेको दुनियाँ’ र ‘रानीचडा’ प्रकाशित छन् । रानीचडा उनको पुरस्कृत कृति हो । उनको गजल लेखनमा जीवन र जगत् अनि दर्शनको प्रभाव झल्किएको छ :
यहाँको चोकमा उभिएर थाकिसकेँ
सालिक हुँ परिचय दिएर थाकिसकेँ ।
मकवानपुरमा जन्मिएकी सङ्गीता थापाको ‘महफिल’ पहिलो संयुक्त गजलकृति हो । उनी मधुवन साहित्य प्रतिष्ठान नेपालमा आबद्ध छिन् । उनमा लेखनका साथसाथै गायन र अभिनय कला पनि छ । उनको गजलमा प्रेमको भावना मिठासपूर्ण शैलीमा छचल्किएको छ :
कुन बाटो भएर जाऊँ तिम्रो हृदयसम्म
दिन पाएको छैन आफ्नो परिचयसम्म ।
सुमन स्मारिका नामझैँ मिठो गजल लेख्छिन् । उनी कैलालीमा जन्मिएकी हून् । ‘महफिल’ उनको दोस्रो संयुक्त गजलकृति हो । उनी सुदूर पश्चिमाञ्चल र प्रयास गजल मञ्चसँग आबद्ध छिन् । उनी गजलमार्फत सामाजिक सचेतनाको अभियान चलाउन चाहन्छिन् :
हर चोकमा आँखा राख अखबार लगाऊ
देश हराउन दिनु हुँदैन सरकार लगाऊ ।
गजल पारखीहरूका लागि धड्कन बन्न सफल हुकुम धड्कन बाँकेमा जन्मिएका हून् । ‘महफिल’ उनको दोस्रो संयुक्त गजलकृति हो । उनका गजलले समाजका अँध्यारा पक्ष विपरीत धावा बोलेका छन् :
भित्र कुरान छ, बाइबल छ, वेद छ
म चप्पल हुँ, मलाई प्रवेश निषेध छ ।
गजल मन पराउने र लेख्न चाहनेहरूका लागि यो कृति पठनीय छ । यसले सबैको मन मनमा महफिल जमाउन सफल भएको छ । कृतिको मूल्य ३९५ रुपैयाँ रहेको छ । यसलाई गजलकार बाबु त्रिपाठीले संयोजन गरेका हुन् ।