भारतीय जेलमा ४० वर्ष विताएका दिपक तिम्सिना आइतबार माई नगरपालिका वडा नं. १० स्थित लुम्बाक घरमा आइपुगेका छन् । भाई भतिजासहित पाउन चार बजे घर आइपुगेका दिपकले ८५ वर्षीया आमा धनमायाँसँग भेटेका थिए ।
भाई प्रकाशचन्द्रले डोर्याउँदै घर ल्याएका दिपकले आमासँगको पहिलो भेटमा पनि कुनै प्रक्रिया जनाएनन् । बरु आमाले भने मातृत्व दर्शाउँदै यो त विरामी पो भएछ भनेर पटक पटक दोहोर्याएकी थिइन् । आमा धनमाले बेपत्ता भएको छोरो ४१ वर्षपछि घर आउँदा खुशी हुँदै यो त मोटाएछ पो त भनेर एक नासले छोराको अनुहार हेरिरहिन् । तर, विरामी जस्तो, डराए जस्तो देखिएका दिपकले भने आमाप्रतिको आकर्षण देखाएनन् ।
उनले भाईकै सहारामा आमालाई मिठाई खुवाए । दिपक आउने खबरले जिल्लाका सञ्चारकर्मीहरु दिउँसै दिपकको घर पुगेको थिए । छिमेकीहरु पनि भेला भएका थिए । आमा धनमाया पनि छोरा आउने कुरामा खुशी थिइन् ।
दुर्गाप्रसाद शनिबार कोलकात्तास्थित दमदम जेलबाट मुक्त भएका हुन् । इलामको फाकफोकथुम गाउँपालिकास्थित एकतप्पाबाट दुर्गाप्रसाद वेपत्ता भएका थिए । उनी दार्जिलिङ्ग पुगेर चिया बमानमा काम गर्दै गर्दा हत्याको अभियोगमा जेल परेका थिए । २०३७ सालमा हराएका दुर्गाप्रसादका बारेमा लामो समय परिवारलाई पत्तो थिएन । करिब एक दशकअघि भारतबाट दुर्गाप्रसादले घरमा चिठ्ठी लेखेपछि परिवारलाई थाहा भयो । दुर्गाप्रसादका काकाका छोरा प्रकाश तिम्सिनाले भने,‘दाइ(दुर्गाप्रसाद)ले नै चिठ्ठी पठाएको भन्ने विश्वासै भएन ।’ उनले थपे,‘विभिन्न माध्यमबाट कुरा गर्दा भारतको जेलमा छन् भन्ने सम्म थाहा भयो ।’ प्रकाशका अनुसार स्थानीय तहको सिफारिस, पुरानो चिठ्ठीलगायतका प्रमाण जुटाएर भारत गएपछि दुर्गाप्रसाद पत्ता लागेका थिए । यत्तिकैमा वकिल, पत्रकारसँगको समन्वयमा दुर्गाप्रसादलाई छुटाउन सफल भएको प्रकाशले भने ।
यसरी छुटे दीपक ?
केही समय दुर्गाप्रसादसँगै जेलमा बसेका राधेश्याम दासले उनको कुरा बाहिर ल्याएका हुन् । कोलकाताका लागि नेपालका महावाणिज्यदुत ईश्वरराज पौडेलका अनुसार उनी राजनीतिक बन्दी हुन् । जेलबाट छुटेपछि केही महिनाअघि दासले वेस्ट बंगाल रेडियो क्लबमा दुर्गाप्रसादका बारेमा बताएका थिए । क्लबले अधिवक्ता हीरक सिन्हालाई जानकारी गरायो ।
अधिवक्ता सिन्हाले सन् २०२० को नोभेम्बरमा जेलमै पुगेर दुर्गाप्रसादलाई भेटे । ‘एउटा व्यक्ति ४१ वर्षदेखि जेलमा छ, उसको सुनुवाइ भएको छैन भनेर राधेश्यामले भनेपछि म जेलमा पुगेँ । त्यतिखेर उनी शारीरिक रूपमा ठीक थिए । मानसिक रूपमा बिरामी देखिन्थे,’ सिन्हाले भने, ‘मैले अलिअलि नेपाली जानेको थिएँ । नेपालीमा दाजु राम्रो छ भनेर सोधेँ । सकारात्मक भएर उहाँले ठीक छु भने । घर कहाँ हो भन्दा इलाम चियाबगान भन्ने ठाउँमा भने । बुबाआमाको नाम र स्कुलको नाम डायरीमा लेखे ।’ त्यसपछि सिन्हाले दुर्गाप्रसादको मुद्दा आफैँ हेर्न थाले । उनीहरूकै पहलमा नेपालस्थित आफन्तको खोजी गरिएको थियो । हीरकसहित वकिल मालायी भट्टाचार्य, सूर्यज्योति घोष र स्वेकाट बेनर्जीको टिमले निःशुल्क मुद्दालाई हेरिरहेको छ । ‘एउटा व्यक्ति विनासुनुवाइ ४१ वर्ष जेल परेको छ । मानवीयताका नाताले हामीले यो मुद्दा हे¥यौँ,’ अधिवक्ता सिन्हाले भने, ‘उहाँ छुट्दै हुनुहुन्छ । धेरै खुसी छौँ ।’ रेडियो क्लबका मानिसहरूले नेपाली महावाणिज्य दूतावासमा पनि खबर गरेका थिए ।
‘त्यहीबीचमा मिडियामा दुर्गाप्रसादबारे समाचार पनि आयो । दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्यले पनि चासो राख्नुभयो । त्यसपछि यस विषयलाई हेर्न हामीले दूतावासका कर्मचारी सतिश थापालाई पूर्ण रूपमा यही काममा लगायौँ । यो विषय बाहिर आएको तीन–चार महिनामा हामीले उनलाई जेलबाट निकाल्न सफल भएका छौँ,’ महावाणिज्यदूत पौडेलले भने ।