चौतारीको २५ औं स्थापना दिवस

  आवाज सम्वाददाता

प्रेस चौतारी नेपालले आफ्नो २५ औं स्थापना दिवस मनाएको छ । चौतारीले देशै भर विविध कार्यक्रम गर्दै माघ २२ मा आफ्नो रजत दिवस मनाएको हो । स्थापना दिवसका अवसरमा चौतारीको जिल्ला शाखा इलामले पनि पुरस्कार वितरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
चौतारीका जिल्ला अध्यक्ष भीम चापागाईंको अध्यक्षता र जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सञ्चारकर्मी बबिता मैनालीलाई प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको थियो । मैनाली इलाम एफएममा समाचार प्रमुखका रुपमा कार्यरत रहेकी छन् । मैनालीलाई चौतारीले नगद दश हजार रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो । प्रेस चौतारीमा आवद्ध पत्रकारहरुलाई हरेक वर्ष प्रदान गर्न थालिएको यो पुरस्कारबाट यसअघि पत्रकार गणेश अर्याल र मनोज अधिकारी पुरस्कृत भइसकेका छन् ।
यता स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि राईले अहिले दलगत रुपमा पत्रकार जन्य संगठनहरु क्रियाशील भएपनि समाजलाई सही दिशा बोध गराउन निस्पक्ष ढंगले पत्रकारहरुले कलम चलाउनु पर्ने बताए । कार्यक्रममा नेकपा एमाले उपसचिव तथा प्रचार विभाग प्रमुख रविन्द्र सुवेदीले पत्रकारहरुलाई लेखेर बाँच्न सक्ने आधार तयार गर्न र पत्रकारिता बलियो बनाउन प्रेस चौतारीले मुख्य भूमिका खेल्नुपर्ने धारणा राखे । सो अवसरमा नेपाल पत्रकार महासंघ इलाम शाखा कोषाध्यक्ष राम योङहाङले पत्रकारितामा आउने नयाँ पुस्ताका लागि प्रेस चौतारी प्रेरणाको स्रोत बन्न सक्ने बताए । उनले महासंघले पनि पत्रकारहरुलाई सचेत गराउन र उनीहरुलाई कामप्रति वफादार बनाउन र पत्रकारहरुको पेशा र हकहित संरक्षणका लागि महासंघ संघर्षरत रहेको बताए ।
कार्यक्रममा प्रश चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष डा.देवीक्षेत्री दुलालले प्रिन्ट मिडियाबाट शुरु भएको नेपालको पत्रकारितामा अहिले धेरै परिवर्तन भएको बताए । दुलालले अहिले पत्रकारिताको इतिहास दलगतबाटै विकसित भएपनि अहिले पनि अहिले दक्ष जनशक्तिको प्रवेश भइरहेको भन्दै पत्रकारहरुलाई स्वयं उत्तरदायि भएर काम गर्न आग्रह गरे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ख्याम भुजेल, केन्द्रीय सदस्य कोकिला ढकाल,नेकपा एमाले इलाम नगर सचिव ठाकुर श्रेष्ठ, प्रेस युनियन जिल्ला अध्यक्ष सविता पाण्डे, प्रेस सेन्टर इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, फोनिजका सचिव सोमनाथ सुनुवारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार