नेकपा एमाले नेता हिक्मत कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

  आवाज सम्वाददाता

इलाम । नेकपा (एमाले) प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।

सत्तारूढ गठबन्धनमा प्रदेश १ सरकारको नेतृत्व एमालेले गर्ने सहमति जुटेसँगै कार्की प्रदेशसभाको दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएका हुन्।

उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका छन्।

उपधारा २ मा कुनै पनि दलको एकल बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याएर मुख्यमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ।

सोही व्यवस्था अनुसार प्रदेश प्रमुख खापुङले १ साताको समय दिएर मुख्यमन्त्रीमा दाबी पेस गर्न गत पुस १७ गते आह्वान गरेका थिए। दाबी पेस गर्ने समय आइतबार साँझ ५ बजेसम्मको थियो।

मुख्यमन्त्री नियुक्त भएका कार्की झापाको निर्वाचन क्षेत्र नम्बर ५ ‘क’बाट दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी एमाले स्थायी कमिटी सदस्य र प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हुन्।

उनले प्रदेशसभाको दोस्रो कार्यकालका लागि बहुमतसहित प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका थिए।

एमाले प्रदेश १ का प्रमुख सचेतक रेवतीरमण भण्डारीले सत्ता गठबन्धनमा आवद्ध पार्टीका संसदीय दलका नेताको हस्ताक्षर र बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित तोकिएको समयभित्रै दाबी पेस गरेपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कार्कीलाई मुख्यमन्त्री बनाउन सत्तारूढ गठबन्धनमा आबद्ध ४ दलका ६० जना सांसदले समर्थन गरेका थिए।

प्रदेशमा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)सहितको सत्तारूढ गठबन्धन छ। एमालेसहित सत्ता साझेदार दलहरू माओवादी, राप्रपा र जसपाको संसदीय दलका नेताको हस्तक्षरसहितको दाबीपत्र कार्कीले बुझाएपछि प्रदेश प्रमुखले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार