पति वैदेशिक रोजगारीमा रहेका बेला एक महिला बालक छोरासहित बेपत्ता भएकी छिन् । इलाम नगरपालिका–२, सुम्बेककी ३१ वर्षीया गोमादेवी पौडेल (पराजुली) र उनका छोरा ७ वर्षे जोसन १९ दिनयता घर नफर्किएका हुन् ।
पति चन्द्र पराजुली मलेसियामै रहेका बेला गोमा गत असार १९ गते माइत (इलामकै देउमाई नगरपालिकाको चमैता) बाट घर आउन भनी हिँडेकी थिइन् । ११ दिनअघि माइत गएकी गोमा घर फर्केर आउँदा इलाम बजारसम्म आएको भन्ने सुनिएपनि त्यसयता आफूसँग सम्पर्कमा नरहेको चन्द्रले बताए । ‘इलाम बजार आइपुगेपछि मलाई इमोमा हेल्लो लेखेकी थिइन्,’ चन्द्रले भने, ‘त्यसयता फोन, म्यासेजलगायत कुनै माध्यममा भेट भएन । अहिले उनको इमो, फेसबुक बन्द छ । मोबाइल अफ् छ ।’
पत्नी बेखबर भएपछि चन्द्र मलेसियाबाट घर आएका छन् । गोमा बेपत्ता भएको ५ दिनपछि आएका चन्द्रले प्रहरीलाई समेत खबर गरेका छन् । ‘गोमाले बेपत्ता भएको ३–४ दिनपछि आफ्नी भाउजू र दिदीकी छोरीलाई चाहिँ मोबाइलमा म्यासेज पठाएर आफूलाई नखोज्नू भनेकी रहिछन्,’ चन्द्रले भने, ‘तर, म्यासेज उनैले पठाएको हो कि उनको मोबाइलबाट अरू कसैले पठाएको हो भन्ने यकिन गर्न भ्याइस म्यासेज पठाउन लगाउँदा उनकै आवाजको म्यासेज पनि आएछ ।’
तर, गोमा र बालक छोरो कहाँ छन् भन्ने अहिलेसम्म पत्ता नलागेपछि चन्द्र चिन्तामा छन् । ‘मेरो बिदा सकिन लागेको छ,’ चन्द्रले दुखेसो पोखे, ‘अब म फेरि उतै जानु कि घरै बस्नु भन्ने दोधारमा छु ।’ चन्द्रले बेपत्ता हुनुभन्दा अघिल्लो दिनसम्म पत्नीसँग सधैंझैं सामान्य हिसाबले फोन सम्पर्क भइरहेको तर अकास्मात् छोरोसहित बेपत्ता भएपछि चिन्ता बढेको बताए ।